प्रचण्डलाई लक्षित गर्दै सूर्य थापाले भने, ‘हिटलरले पनि आत्महत्या नै गरेका थिए’

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कटाक्ष गरेका छन्। प्रचण्डले भावुक हुँदै आफूलाई आत्महत्या गर्ने सोच आएको बताएको भोलीपल्ट थापाले हिटलरले पनि आत्महत्या नै गरेका थिए भन्दै कटाक्ष गरेका हुन्।

त्यतिमात्र हैन थापाले हारेको जुवाडे, चरम महत्वाकांक्षी, युद्धबन्दी, तानाशाह र रक्तपिपासुले असफलतामा रोज्ने बाटो अन्ततः आत्महत्या बाहेक अर्काे हुनै नसक्ने जिकिर पनि गरेका छन्।

‘हिटलरले पनि आखिरीमा आत्महत्या नै गरेको थियो ! हारेको जुवाडे, चरम महत्वाकांक्षी, युद्धबन्दी, तानाशाह र रक्तपिपासुले असफलतामा रोज्ने बाटो अन्ततः आत्महत्या बाहेक अर्काे हुनै सक्दैन,’ उनले लेखेका छन्।

त्यस्तै थापाले अघि लेखेका छन्, ‘पुष्पकमल दाहालले युवाहरूलाई आत्ममहत्या गर्न सार्वजनिक रूपमा नै दुरूत्साहन गरेको भाषण निराशा र कुण्ठाको स्वभाविक अभिव्यक्ति हो।’

बिहीबार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा प्रचण्डले प्रतिनिधिसभा विघटनपछि लड्ने कि मर्ने ’आत्महत्या’को सोच आएको बताएका थिए।

भगत सिंहको फिल्मको सन्दर्भ निकाल्दै उनले आफू मर्ने कि लड्ने अवस्थामा पुगेको बताए। त्यसैगरी आफ्नो पनि झण्डै आत्मसमर्पण गरी आत्महत्या गर्नुपर्ने वा लड्नुपर्ने विकल्प रहेको बताएका थिए।

‘झण्डै–झण्डै मेरो अगाडि अब फेरि लडाइँ गर्ने कि! आत्मसमर्पण त गर्न सक्दिनँ, गर्न हुँदैन। हजारौं सहिद, बेपत्ता, घाइते, अपाङ्ग योद्दाहरूको सबै ऋण मेरो टाउकोमा छ। या त मैले सकिनँ यत्ति नै रहेछ भनेर आत्महत्या गर्नुपर्ने। या त लड्न पर्ने। लड्ने कि मर्ने,’ उनले भनेका थिए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.