प्रचण्डले भक्कानिँदै भने- ओलीका कारण सुसाइड गर्ने ठाउँसम्म पुगे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको संसद विघटनलाई स्मरण गरेका छन्।

बिहीबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले त्यतिबेला (संसद विघटन ) आफू आत्महत्या गर्ने सोचमा पुगेको बताए।

कार्यक्रममा विगत सम्झेरअलि भावुक देखिएका प्रचण्डले नेपाली राजनीतिमा विद्यार्थी नेताहरूको उपस्थितिले गर्दा नै आफूमा अझैं साहस र हिम्मत जुटेको उल्लेख गरे।

सम्बोधनको क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भारतीय फिल्म ‘भगत सिंह’मा चन्द्रशेखर आजादले एक मुठी माटो लिएर (धर्ती माता)मा यति नै रहेछ गर्न भनेर आत्महत्या गरेको प्रसंग कोट्याए ।

आफू पनि झण्डैझण्डै त्यही अवस्थामा पुगेको भन्दै प्रचण्डले विद्यार्थी नेतासामु भने, ‘आत्मसमर्पण त गर्न सक्दिनँथे, हजारौं शहीद घाइते अपांगको ऋण मेरो टाउकोमा छ । तर, म त्यतिबेला या सुसाइड गर्नुपर्ने या त लड्नुपर्ने ठाउँमा पुगेको थिए।’

‘शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीको लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औं राष्ट्रिय सम्मेलन’ भन्ने नाराका साथ आजदेखि सुरु भएको अखिल क्रान्तिकारीको सम्मेलन आगामी शनिबारसम्म चल्ने बताइएको छ।

सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वका लागि वर्तमान उपाध्यक्ष सुरेन्द्र बस्नेत र पन्चासिंह मुख्य दौडमा छन् ।

यस्तै, महासचिव उत्तम अधिकारीसहित तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम पनि अध्यक्षको आकांक्षी देखिएका छन् ।अखिलका अनुसार सम्मेलनका लागि देशभरबाट ७९९ प्रतिनिधि सहभागी भएका छन्।

Facebook Comments