घुस काण्डमा प्रहरीहरु नै मुछिएपछि हेडक्वार्टरको छड्के

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी कार्यालयहरुको छड्के अनुगमन शुरु गरेको छ। विभिन्न प्रकरणहरुमा प्रहरी नै मुछिन लागेपछि प्रहरीले अनुमान शुरु गरेको हो।

एक हप्तादेखि लुम्बिनी प्रदेश र प्रदेश २ का प्रहरी कार्यालयहरुमा छड्के अनुगमन गरिएको छ। लुम्बिनी र प्रदेश २ का जिल्ला प्रहरी कार्यालयका कर्मचारीविरुद्ध गुनासो तथा उजुरी आएपछि प्रहरी प्रधान कार्यालय सक्रिय भएको हो।

स्रोतका अनुसार छड्के अनुगमनमा प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राई र भीम ढकाल खटिएका थिए। अनुगमन टोलीले गोप्य रुपमा एक हप्ता अनुगमन गरेको छ। अनुगमन टोलीले केही दिनमै प्रहरी प्रधान कार्यालयलाई प्रदिवेदन बुझाउने तयारी गरेको बुझिएको छ।

प्रतिवेदन अध्ययन गरेर प्रधान कार्यालयले कारवाही अघि बढाउने बताइएको छ। केही समयअघि रौतहटका एसपी सिद्धिबिक्रम शाह निर्दोष पत्रकारलाई लागूऔषध राखेर फसाएको घटनामा अनुसन्धानमा तानिएका थिए।

निषेधाज्ञाको समयमा क्यासिनो सञ्चालन गर्न दिएको भन्दै बाँकेका एसपी श्यामकृष्ण अधिकारी विवादमा परेका थिए। त्यस्तै बाँकेमै प्रहरी प्रमुख हुँदा एसपी ओम राना पनि विभिन्न प्रकरणमा मुछिएका थिए। जनगुनासो बढेसँगै प्रहरीले अन्य प्रदेशहरुमा पनि छड्के अनुगमन गर्ने तयारी गरिरहेको बताइएको छ।

Facebook Comments