प्रधानमन्त्री देउवालाई एमाले उपमहासचिव पौडेलको चेतावनी

रूपन्देही । नेकपा एमालेका उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम नरोक्न प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई चेतावनी दिएका छन् ।

उनले विमानस्थलको काम रोकिएमा लुम्बिनी प्रदेश र रूपन्देहीका जनताको विरोधको सामना गर्न तयार रहन सरकारलाई चुनौती दिए ।

उद्योग व्यापार संगठन रूपन्देहीको साधारणसभा तथा भवन उद्घाटन कार्यक्रममा आज भैरहवामा बोल्दै पौडेलले अघिल्लो सरकारले अगाडि बढाएको दोस्रो चरणको निर्माण कार्य वर्तमान सरकारले ‘होल्ड’ गरेको भन्दै चेतावनी दिएका हुन् ।

कार्यक्रममा उनले अघिल्लो केपी ओली नेतृत्वको सरकारको पालामा भएका निर्णयलाई कार्यान्वयन गर्दै एसियाली विकास बैंक (एडीबी)सँग ऋण सम्झौता गरी बहुवर्षीय अन्तर्राष्ट्रिय ठेक्का आह्वान गरी निर्माणको काम छिटो अगाडि बढाउन आग्रहसमेत गरे ।

उनले भने–‘हामीले सेकेन्ड फेजका काम अगाडि बढाएका थियौं । जसअन्तर्गत आउँदो ५० वर्षलाई धान्ने अत्याधुनिक टर्मिनल बिल्डिङ (टिटु) बनाउने, टयाक्सी वे र फराकिलो पार्किङलगायतका आधुनिक पूर्वाधार तयारी गर्ने कार्य अगाडि बढाउन एडीबीले ७ अर्ब लगानी गर्ने र नेपाल सरकारले ७ अर्ब गरी १४ अर्ब लगानीमा सेकेन्ड फेजको काम अगाडि बढाउने मोडालिटी तयार भएको थियो ।एडीबी ऋण सम्झौता गर्न तयार अवस्थामा छ तर सरकारले काम अगाडि बढाएन ।’

पौडेलले थप भने –‘गत असार महिनामा मैले ‘सेकेन्ड फेज’को पूर्वाधार बनाउन ‘काउन्टर पार्टस् फन्ड’ सरकारले व्यहोर्ने जानकारीका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई पत्र पठाएको थिएँ । त्यसको आधारमा एडीबीसँग सम्झौता भएर अहिलेसम्म अन्तर्राष्ट्रिय बहुवर्षीय ठेक्का आह्वान भइसक्नुपर्ने थियो तर सरकार परिवर्तन भएपछि एडीबीसँग सम्झौता पनि गरिएको छैन । काउन्टर पार्टस् फन्डको निर्णय पनि गरेको छैन । योजनाको काम सरकारले होल्ड गरेर बस्यो ।’

पहिलो चरणको निर्माणको काम चलिरहेको अवस्थामा केपी शर्मा ओली र पौडेलले विमानस्थलको स्थलगत अवलोकनपछि विमानस्थललाई अन्तर्राष्ट्रिय क्षमताको बनाउने प्राविधिकहरूको सुझावअनुसार ५०० विगाहा जग्गा अधिग्रहण गरिएको थियो ।

Facebook Comments