एजेन्सी । भारतको कट्टकमा रहेको ब्राह्मणी देवी मन्दिरमा पुजारीले ५२ वर्षीय एक पुरुषको टाउको काटेर बलि दिएका छन् ।
हत्यामा संलग्न संसारी ओझाले प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि यो वीभत्स घटना उजागर भएको हो । बलि दिइएका मानिस सरोज कुमार प्रधान भएको र उनी बन्धाहुदा गाउँका निवासी भएको प्रहरीले पत्ता लगाएको छ । ती पीडित मन्दिरमा मालीको काम गर्थे र ओझासँग एउटै कोठामा बस्थे ।
कोरोनाभाइरस महाव्याधिका विषयमा प्रधानसँग विवाद परेपछि ओझाले शुक्रवार बिहान १ बजे हत्या गरेको प्रहरी उपरीक्षक राधाविनोद पाणिग्रहीले बताए ।
ओझाले साबिती बयान दिने क्रममा कोरोनाभाइरसबाट संसारलाई मुक्त गराउन आफूलाई देवीले प्रधानको बलि दिन भनेको बताए । पुजारीले हँसिया प्रयोग गरेर प्रधानको टाउको छिनालेको प्रहरीको भनाइ छ ।
‘ती दुवै व्यक्तिले राति गाँजा सेवन गरेको प्रारम्भिक अनुसन्धानमा पाइएको छ,’ प्रहरी उपरीक्षकले बताए । प्रहरीको टोली घटनास्थलमा पठाइएको र उनीहरूले घटनास्थलबाट आवश्यक नमूनाहरू संकलन गरेको उनको भनाइ छ ।
मृत शरीरलाई पोस्टमोर्टमका लागि पठाइएको छ । आरोपितलाई पक्राउ गरिएको छ र उनको स्वास्थ्य परीक्षण गरिएको छ ।
लकडाउनका कारण लामो समयदेखि मन्दिरमा कोही पनि गएका छैनन् । त्यहाँ ओझा र प्रधान मात्र बस्ने गरेको एक गाउँलेले बताए ।
Facebook Comments