नेपाल र भारतका अधिकारीहरुले गरे तराई सडक परियोजनाको प्रगति समिक्षा

काठमाडौं । नेपाल र भारतका अधिकारीले भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित तराई क्षेत्रको सडक पूर्वाधारको सुदृढीकरण परियोजनाको प्रगति समिक्षा गरेका छन् ।

नेपालको तराई क्षेत्रको सडक पूर्वाधारको सुदृढीकरणसम्बन्धी चौथो संयुक्त परियोजना अनुगमन समितिको आज भिडियो कन्फरेन्समार्फत भएको बैठकमा प्रगति समिक्षा भएको हो ।

भारतको विदेश मन्त्रालयका उत्तर महाशाखा हेर्ने सहसचिव अनुराग श्रीवास्तव र नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माको सह–अध्यक्षतामा भिडियो कन्फरेन्समार्फत भएको बैठकमा नेपालमा निर्माण भइरहेका तराई सडक परियोजनाको समग्र कार्यान्वयनको समिक्षा भएको थियो ।

परियोजनाअन्तर्गत १४ वटा सडक ‘प्याकेज’मध्ये १३ वटा निर्माण सम्पन्न भइसकेको सन्दर्भमा प्राप्त उपलब्धिप्रति दुवै पक्षले सन्तुष्टि जनाउँदै कोभिड १९ महामारीबाट उत्पन्न विषम परिस्थितिमा पनि परियोजना सफलताका साथ अघि बढेको र निर्माण अन्तिम चरणमा पुगेकामा खुशी व्यक्त गरेका थिए ।

नेपालको तराई क्षेत्रमा कूल ३०६ किलोमिटर लम्बाई रहेको १० वटा सडकहरु (१४ वटा प्याकेज/ठेक्कामा विभाजित) को निर्माण कार्यको लागि भारत सरकारले सन् २०१६ मा ८ सय करोड आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको थियो ।

यी सडकहरुले पूर्व–पश्चिम राजमार्गलाई भारतीय सीमासँग जोड्नुका साथै दुई देशका जनताको आवतजावतलाई सहज बनाउन मद्दत गर्नेबारे पनि बैठकमा समिक्षा भएको थियो ।

बैठकमा नेपाली पक्षले भारत सरकारले नेपालमा सडक सञ्जाललगायतका पूर्वाधार विकासमा पु¥याएको निरन्तर सहयोगको सराहना गरेको थियो भने भारत सरकारले पनि दुई देशबीच सम्पर्क सञ्जाल विस्तारका निम्ति नेपाल सरकारसँग परिणाममुखी सहकार्य गर्न पाएकामा हर्ष प्रकट गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । अनुगमन समितिको अर्को बैठक दुवै पक्षलाई अनुकूल हुने मितिमा आयोजना गर्ने सहमति भएको छ ।

Facebook Comments