तालिबान सरकारद्वारा शपथ ग्रहणको कार्यक्रम रद्ध

एजेन्सी । अफगानिस्तानको नयाँ तालिबान सरकारले शपथ ग्रहण कार्यक्रम रद्ध गरेको छ। तालिबान सरकारले शपथ ग्रहण समारोहलाई पैसा र स्रोतको सत्यानाश भएको बताएको छ। देशको राजधानी काबुल कब्जा गरेको करिब एक महिना पुग्नै लाग्दा तालिबानले अन्तरिम सरकारको घोषणा गरेको थियो। मुल्ला हसन अखुन्दजादालाई प्रधानमन्त्री बनाइएको छ भने मुल्ला अब्दुल गनी बरादर उपप्रधानमन्त्री बनेका छन्।

बरादरबाहेक मुल्ला अबदस सलामलाई पनि उपप्रधानमन्त्री बनाइएको छ। यसैबीच तालिबान सरकारले शपथ ग्रहण भने रद्ध गरेको छ। नयाँ मन्त्रीहरुको सूचि सार्वजनिक भएसँगै उनीहरुले छिट्टै शपथ लिने विश्वास गरिएको थियो। जसमा चीन, पाकिस्तान, रुसलगायतलाई आमन्त्रण गरिने अपेक्षा गरिएको थियो। तर तालिबान सरकारले यसलाई पैसा र स्रोतको सत्यानाश भन्दै शपथ ग्रहण कार्यक्रम रद्ध गरेको हो।

तालिबाने ९–११ कै दिन शपथ लिने बताइएको थियो। २० वर्ष अघि आजकै दिन अमेरिकामा भएको भयानक हमलालाई दृष्टिगत गर्दै उक्त कार्यक्रम हुन सक्ने बताइएको थियो। यसै अवसरमा तालिबानसँग औपचारिक वार्ता गर्नका लागि तयार भएका चीन, पाकिस्तान र रुस भने अलमलमा परेका छन्। हाल उनीहरु तालिबानसँगको सम्बन्ध मजबुत बनाउने तयारीमा छन्।

Facebook Comments