असार १७ गतेदेखि कुन एयरलाइन्सले कति वटा उडान भर्ने?

काठमाडौँ । मुलुकको आन्तरिक हवाई उडान यही असार १७ गतेदेखि सञ्चालन हुने निर्णय भएसँगै आन्तरिक उडानका एयरलाइन्स जनस्वास्थ्यको मापदण्डको परिपालना गर्दै उडानको तयारीमा जुटेका छन् ।

आन्तरिक उडानका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलगायत एयरलाइन्सले सङ्क्रमणरहित उडानका लागि आवश्यक तयारी गरेका हुन् । उपर्युक्त एयरलाइन्सले यसअघिको कोभिड–१९ महामारीको पहिलो लहरपछिको उडानमा अपनाइएको स्वास्थ्य प्रोटोकललाई पूर्ण रुपमा पालना गर्दै उडान सञ्चालन गरिने जनाएका छन् ।

एयरलाइन्सले यात्रुको सुरक्षा र जनस्वास्थ्यको मापदण्डलाई प्रभावकारी रुपमा पालना गरी उडान सञ्चालन गर्नेगरी टिकट बुकिङ पनि शुरु गरिसकेका छन् । अघिल्लो महामारीपछिको उडानमा हवाई भाडामा भारी छुटका साथ उडान गरेका एयरलाइन्सले पछिल्लो उडानमा हवाई भाडा केही मात्रामा बढ्नसक्ने जनाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेकाले साबिकको हवाई भाडादर केही वृद्धि हुने बुद्ध एयरले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि कूल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान सञ्चालन गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको थियो । उक्त निर्णयबमोजिम क्यानले एयरलाइन्सलाई उडान कोटा निर्धारण गरेको छ ।

अहिलेको अवस्थामा बुद्ध एयरले जम्मा ३१ उडान गर्नेछ । कम्पनीले काठमाडौँदेखि विराटनगर गन्तव्यमा दैनिक चार, भद्रपुर तीन, तुम्लिङटार एक, जनकपुर तीन, पोखरा तीन, भैरहवा पाँच, धनगढी दुई र सुर्खेत एक उडान गर्ने तालिका बनाएको छ ।

यस्तै यती एयरलाइन्सले कूल १५ उडान गर्नेछ । यतीले विराटनगर तीन, भद्रपुर दुई, जनकपुर दुई, सिमरा दुई र पोखरा दुई उडान तालिका बनाएको छ । श्री एयरलाइन्सले सात, सौर्य एयरलाइन्सका तीन उडान तालिका छन् ।

कोभिड महामारी नियन्त्रण गर्न सरकारले गत वैशाख २० गतेदेखि आन्तरिक तथा वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय उडान स्थगन गरेको थियो । कोभिडका सङ्क्रमित बढेसँगै सरकारले गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.