ताजा जनादेशको अर्को विकल्प छैन : गृहमन्त्री पौडेल

काठमाडौँ । गृह तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले ताजा जनादेशको विकल्प नरहेको दावी गरेका छन् । उनले निर्वाचन अगाडि सवै नेपालीलाई खोप उपलव्ध गराउने भन्दै जनता भोट हाल्न जाँदा मास्क खोलेर जान सक्ने वातावरण बनाउने समेत दावी गरे।

गृहजिल्ला रुपन्देहीको बुटवलमा आज कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयको बुटवलमा उद्घाटन गर्दै पौडेलले निर्वाचन नै अबको निकास भएको जिकिर गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि अन्य दलले वैकल्पिक सरकार बनाउन नसक्दा प्रतिनिधिसभा विघटन गर्नुपरेको जिकिर गर्दै मन्त्री पौडेलले लोकतन्त्रको प्राण निर्वाचन भएकाले ताजा जनादेशबाटै मुलुकले निकास पाउने तर्क गरे ।

संविधान निर्माणपछि राजनीतिक मुद्दामा नभई विकास र समृद्धिमा लाग्ने अठोट गरिएपनि अनपेक्षित दृश्य देखा परेको बताए। उनले सरकारले निर्वाचनमा गरेको बाचाअनुसार विकासका नयाँनयाँ काम गरेको पनि दावी गरे । ‘चाहे पूर्वाधारको विकासका लागि होस् या चाहे मानव सूचकांकका हिसावले होस्, एकपछि अर्को राम्रो काम भएका छन्, अझै हुन्छन् सवैले अनुभूति गरेका छन् ।’, उनको जिकिर थियो ।

कोभिड विरुद्धको खोप छिटो भन्दा आपूर्ति गरेर जनतालाई लगाउनुपर्ने आवश्यकता रहेको भन्दै उनले खोपको प्रकृया शुरु भएपछि बीचमा रोक्न नपर्ने गरी काम भईरहेको बताए । २०६५ सालमा आफू जलस्रोत मन्त्री हुँदा कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सोचलाई शुरुमा कतिपयले विश्वास नगरी चुनावी प्रचार जस्तै ठानेको स्मरण गर्दै मन्त्री पौडेलले अव योजना अगाडि बढेको बताए ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.