चुनावको घोषणा गर्नु ओलीको अहंकार मात्रै : माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कुर्सीका लागि नभई देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुपर्ने बेला भएकाले सवैको हातेमालो आवश्यक रहेको बताएका छन् ।

बिहीबार सम्पादकहरूसँगको छलफलमा नेता नेपालले अहिले देश जोगाउने जिम्मेवारी राजनीतिक दल र मिडियाकर्मीको समेत भएको बताएउदै देशको स्वाधिनता, स्वाभिमान र राष्ट्रहितको रक्षाका लागि सवैको हातेमालो आवश्यक रहेकाले व्यक्तिगत अहंकार त्याग्न समेत आग्रह गरेका छन् ।

‘देश जोगाउने अभिभारा तपाइँहरुको हो, हाम्रो हो, हामी सवैको हो’नेता नेपालको भनाइ छ । उनले ओलीको अहंकारले संसद विघटन गरेपनि कोर्स करेक्सन गर्न सकिने पनि बताएका छन् ।

‘देशमा गणतन्त्र आएको छ, संघीयता आएको छ । जनताको चेतना प्रखर भएको छ । सुशासनको प्रत्याभुति, संविधानको रक्षा र सहि काम गरेर जनताको जीवनलाई सम्मृद्ध बनाउनुपर्ने बेलामा संसदलाई विघटन गरेर चुनाव नै हुननसक्ने चुनावको घोषणा गर्नु ओलीको अहंकार मात्रै हो । यो कोर्स करेक्सन गरौ । त्रुटि कमजोरी हुन्छन् सुधार गर्न सकिन्छ’, नेता नेपालको भनाइ छ । उनले ओलीले गल्ती स्वीकारेर आएर उनलाई स्वागत गर्न सकिने बताए ।