बलात्कारको प्रतिकार गर्दा घाँटी थिचेर हत्या, युट्युबमा भाइरल सन्तोषीको हत्या आरोपी सार्वजनिक

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा युट्युवमा भाइरल महिला सन्तोषी सुब्बाको हत्या आरोपमा पक्राउ परेका सुरेश तिमल्सिनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखाले बिहीबार पत्रकार सम्मेलन गरेर अभियुक्त तिमल्सिनालाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ घर भइ दक्षिणकाली नगरपालिका ७ बस्ने २९ वर्षीय सुरेशले सन्तोषीको हत्या गरेको खुलेपछि असनबाट पक्राउ गरिएको हो ।

असार ६ गते दक्षिणकाली पुगेकी सन्तोषीले सुरेश तिमल्सिनासँग खाने र बासको समस्या भएको बताएपश्चात अभियुक्तले खाना र सुत्ने व्यवस्था मिलाइदिन्छु भन्दै दक्षिणकाली मन्दिर नजिकै जंगलमा पुर्याएका थिए । पिकनिक स्थलमा रहेको सार्वजनिक शौचालय नजिक उनको शव फेला परेको थियो ।

​घटनास्थलमा उनले जरबरजस्ती गर्नेक्रममा सन्तोषीले प्रतिकार गरेपछि सुरेशले घाँटी थिचि मृतकको सलले घाँटीमा बेरी हत्या गरेको खुलेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । उनले हत्या पश्चात अनुहारमा पटक पटक ढुंगाले प्रहार गरी फरार भएको पाइएको पनि प्रहरी अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रहरीले शव सन्तोषीको भएको पुष्टि बुधबार गरेको थियो भने त्यसको २४ घण्टा नबित्दै हत्या आरोपीलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो।

Facebook Comments