संसद विघटनविरुद्ध विपक्षी गठबन्धनले सडक संघर्ष गर्ने

काठमाडौँ । संसद विघटन विरुद्ध अदालत पुगेको विपक्षी गठबन्धनले सडक आन्दोलन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बुधबार राति बसेको विपक्षी गठबन्धनका दोस्रो तहका नेताहरुको बैठकले सडक आन्दोलनको प्रारुप तय गर्नका लागि कार्यदल बनाएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र तथा नेकपा एमाले माधव नेपाल समूहका शीर्ष नेताहरुको निर्देशन अनुसार दोस्रो तहका नेताहरुको बैठक बसेर सडक आन्दोलनलाई पनि अघि बढाउने निर्णय गरेको हो । नेताहरु भीम रावल, पूर्णबहादुर खड्का, राजेन्द्र श्रेष्ठसहितको कार्यदल बनाइएको छ । सो कार्यदलले आन्दोलनको प्रारुप तयार पार्ने छ ।

पहिलोपटक संसद विघटन हुँदा विपक्षी गठबन्धनले सडक आन्दोलनलाई उत्कर्षमा लगेको थियो । यो पटक पनि कोरोना भाइरसको संक्रमण केही कम हुन थालेसँग सो गठबन्धनले कानूनी लडाईँसँगै सडक आन्दोलन पनि अघि बढाउने भएको हो ।

Facebook Comments