असार दोस्रो साताबाट स्मार्ट लकडाउन: के-के खुल्छ?

काठमाडौं । असार दोस्रो साताबाट स्मार्ट लकडाउन हुने भएको छ । कोभिड–१९ निर्देशक समितिको बुधबार बसेको बैठकले संक्रमणको जोखिम राख्न र अत्यावश्यक वस्तुहरुको उत्पादन तथा आपूर्ति सुचारु गर्न स्मार्ट लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

बालुवाटारमा बसेको बैठकले हाल जारी निषेधाज्ञा कायमै राख्ने र त्यसपछि अवस्था मूल्यांकन गरी केही क्षेत्र खुला गर्ने निर्देशक समितिको निर्णय छ । बैठकमा प्रधानमन्त्री एवं निर्देशक समितिका प्रमुख केपी शर्मा ओलीले स्वास्थ्य मापदण्डमा कडाई गर्दै संक्रणको जोखिम नहुँदासम्म लकडाउनलाई खुकुलो बनाउनुपर्ने बताएका थिए ।

यस्तै सरकारले बैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटल क्वारेन्टाइनमा बस्न नसक्ने कामदारलाई १० दिनको होटल खर्च उपलब्ध गराउने निर्णय गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि सरकारले १० दिनको खर्च ब्यबस्थापन गर्ने निर्देशक समितिले निर्णय गरेको छ ।

साथै सरकारले कतार, साउदी अरेबिया, मलेसिया, जापान लगायतका मुलुकमा पुनः हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ । यी देशहरुबाट सातामा दुई हजार यात्रु नबढ्ने गरी हवाई उडान सुचारु हुनेछ ।

यसै गरी गैरआवासीय नेपालीहरूबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोगस्वरूप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै लकडाउनलाई संक्रमणको जोखिम नहुने हदसम्म मात्र खुकुलो गर्न सकिने बताएका थिए ।

कोरोना नियन्त्रणका लागि सबैभन्दा महत्त्वपूर्ण र अनिवार्य पक्ष खोप नै भएको उल्लेख गर्दै उनले त्यसका लागि ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेको र ती खोप आगामी साउनदेखि लगाउन थालिने बताए । कोभिड–१९ कुनै एक निकायको मात्र जिम्मेवारी नभएको बताउँदै प्रधानमन्त्रीले सबै मन्त्रालय र निकायलाई समन्वयात्मक ढंगले काम गर्न पनि निर्देशन दिए ।

Facebook Comments