प्रहरीमाथि गरिएको रंगभेदी हर्कत्‌विरुद्ध मधेशी आयोगमा उजुरी दर्ता

काठमाडौं । प्रहरी कार्यालयभित्रै पुगेर प्रहरीमाथि रंगभेदी हर्कत् गरेको घटनाविरुद्ध मधेशी आयोगमा उजुरी दर्ता भएको छ।

महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक मणिकान्त झामाथि ‘सामाजिक अभियन्ता’ भनिने ज्वाला संग्राैला र उनको समूहले प्रहरी कार्यालयमा पुगेर गरेको दुर्व्यवहारविरुद्ध आयोगमा उजुरी परेको हो।

आयोगमा दर्ता भएको उजुरीको दर्ता नम्बर १८३ रहेको आयोगका अध्यक्ष विजयकुमार दत्तका स्वकीय सचिव दीपेन्द्र कुमार यादवले बताए। घटनाको भिडियो सार्वजनिक भएपछि संग्राैलालगायत उनको टिमको चाैतर्फी विरोध भइरहेको छ।

आयोगले आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइसकेको पनि यादवले बताएका छन्। साथै, आयोगका अध्यक्ष दत्तले प्रहरी महानिरीक्षक शैलश थापा क्षेत्रीलाई फोन गरेर घटनाको छानविन गरि आवश्यक कारबाही गर्न आग्रह गरेका छन्।

कुनै पनि समुदायलाई अपमानजनक शब्द प्रयोग गरि होच्याउनु कानुनत: अपराध भएकाले कानुनी प्रक्रिया अगाडि बढाइएको आयोगले जनाएको छ।

Facebook Comments