नेपाल र भारतका ह्याकहरूबीच सरकारी निकायहरूसँग भएको डाटा ह्याक गर्ने प्रतिस्पर्धा चल्न थालेपछि नेपालमा साइबर सुरक्षामाथि गम्भीर खतरा उत्पन्न भएको छ । नेपालमा साइबर सुरक्षाको अवस्था अन्य देशको तुलनामा निकै कमजोर रहेकाले विभिन्न सरकारी निकायमा भएका विवरणहरू ह्याक हुन सक्ने सम्भावना बढेर गएको साइबर सुरक्षाका विज्ञहरूले चिन्ता व्यक्त गर्न थालेको छन् ।
इन्डियन ह्याकरको समूहले नेपालको राष्ट्रिय पुस्तकालयको वेबसाइट र बोटानिकल सेन्टर बाँकेको वेबसाइट ह्याक गरेलगत्तै नेपाली ह्याकरहरूको समूहले पनि भारतीय आधार कार्डको डाटाबेस ह्याक गरेका छन् ।
यो प्रकरणमा इन्डियन ह्याकरहरूको समूहले आफूहरूसँग जोरी नखोज्न चेतावनीसहित आगामी दिनमा थप डाटाबेस ह्याक गर्ने सन्देश दिएपछि नेपालको साइबर सुरक्षामाथि उच्च खतरा उत्पन्न भएको हो । जबाफमा नेपालका ह्याकरहरूले सात करोड भारतीयहरूको आधार कार्डको विवरण ह्याक गरेको दाबी गर्दै अन्य विवरण पनि ह्याक गर्ने चेतावनी दिएपछि साइबर सुरक्षामा जटिलता थपिने देखिएको हो । नेपाली ह्याकर समूह सतानले गो–ब्याक इन्डिया र ब्याक–अफ इन्डियन मिडिया भन्दै भारतीय आधार कार्डको डाटाबेस ह्याक गरेकोे जनाएको छ । नेपाली ह्याकरहरूले दुई हजार एक सय ४५ जना भारतीयको विवरण सार्वजनिक गर्दै सात करोडको विवरण आफूहरूको पहुँचमा रहेको दाबी गरेका छन् ।
नेपालको सबैभन्दा ठूलो डाटाबेस रहेको निर्वाचन आयोग, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नेपाल टेलिकम, कर्मचारी सञ्जय कोष, नागरिक लगानी कोष, राष्ट्रिय परिचय–पत्र, अध्यागमन विभाग, राहदानी विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय र विभिन्न बैंकलगायत संस्थाहरूका डाटाबेस ह्याक हुने सम्भावना रहेको विज्ञहरूको भनाइ छ । भारतको तुलनामा नेपालको साइबर सुरक्षाको अवस्था कमजोर भएकाले साइबर वारको खतरा र परिस्थिति जटिल रहेको विज्ञहरूले औंल्याएका छन् । नागरिक दैनिकमा खबबर छ।
Facebook Comments