काठमाडौँ । नेकपा एमालेबाट निष्काशित माधवकुमार नेपाल समूहले बोलाएको स्थायी कमिटीको बैठक अवैध भएको एमालेको संस्थापन पक्षले आरोप लगाएको छ । नेपाल समूहले आज ११ बजे भर्चुअल माध्यमबाट बैठक बोलाएको थियो ।
बैठकबारे थाहा पाएपछि संस्थापन पक्षले विज्ञप्ति निकालेर सो अवैध बैठकमा सहभागी नहुन निर्देशन दिएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले अध्यक्ष केपी शर्मा ओली बाहेकले बोलाएको बैठक अवैध भएको बताएका छन् ।
‘अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा एमालेको वैधानिक व्यवस्था विपरित पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ त्यस्तो कृयाकलापको निन्दा एवम् भर्त्सना गर्दछु ।’
‘पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरुलाई पार्टीको विधान र मुलुकको कानून विपरितको त्यस्ता कृयाकलापमा सहभागी नहुन सुचित गर्दछु’ विज्ञप्तिमा उल्लेख छ । एमाले अध्यक्ष ओलीले आज दिउँसो ४ बजे स्थायी कमिटी बैठक बोलाएका छन् । बैठकमा १९ स्थायी कमिटी सदस्यलाई मात्रै निम्ता गरिएको श्रोतले बतायो ।
