चार देशमा नेवानिसहित चार वायुसेवालाई नियमित उडानको अनुमति

काठमाडौं । नेपाल एयरलाइन्ससहित चार वायुसेवा कम्पनीले चार अन्तर्राष्ट्रिय नियमित उडानको अनुमति पाएका छन् । सरकारले भारतमा दुई र अन्य तीन मुलुकमा साताको एक नियमित उडान खोलेको छ ।

यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान तालिका स्वीकृत गरेको हो । स्वीकृत तालिकाअनुसार नेपाल वायुसेवा निगम, टर्किस एयरलाइन्स, कतार एयरवेज र एयर इण्डियाले नेपालमा नियमित उडानको अनुमति पाएका हुन् ।

अनुमति पाएका उडानमध्ये टर्कीले इस्तानबुलमा मात्र उडान गर्न पाउने छ । टर्कीका लागि ३ जुनबाट सातामा एक उडानको अनुमति दिइएको छ । यो उडान हरेक बिहीबार हुनेछ ।

नेपाल एयरलाइन्सले कतारको दोहा र भारतको नयाँ दिल्लीका लागि अनुमति पाएको छ । दोहाका लागि कतार एयरवेजले समेत एक उडान पाएको छ । कतारमा नेपाल एयरलाइन्स र कतारले हरेक सोमबार उडान गर्नेछन् ।

दुबै कम्पनीले ७ जुनबाट उडान थाल्न सक्नेछन् । नेपाल एयरलाइन्सको जहाज नयाँ दिल्ली भने हरेक बुधबार उड्नेछ । भारतीय वायुसेवा एयर इण्डियाले भने साताको शुक्रबार काठमाडौ उडान गर्ने गरि अनुमति पाएको छ ।

भारतमा एयर बबल स्किम अनुसार उडान भइरहेको छ । थप तीन मुलुकमा भने सरकारले एक साता अगाडी उडान खोल्ने निर्णय गरेको थियो ।

मलेसिया र खाडीमा नेपाली अलपत्र

सरकारले कोरोना भाइरसको बढ्दो संक्रमणका कारण नियमित हवाई उडान रोकेको १ महिना नाघेको छ । यो बीचमा अत्यावश्यक कामका लागि आवतजावत गर्ने यात्रु समेत समस्यामा परेका छन् ।

नेपाल सरकारले खाडी र मलेसियामा प्राथमिकता नदिँदा समस्यामा परेको भन्दै दैनिक ठूलो संख्यामा गुनासो आउने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उडान अनुमति खुला गर्ने वा नगर्ने विषय प्राधिकरणको नभएको भन्दै समस्या पर्दा सम्बन्धित मुलुकको दूतावासमा सम्पर्क गर्न समेत प्राधिकरणले जनाएको छ ।

उता, यात्रुले भने कतार खुला भएसँगै अन्य मुलुकमा समेत सुरक्षा मापदण्ड पुरा गरी उडान खोल्न सरकारको ध्यानाकर्षण गराएका छन् । नियमित उडान खुलेकामध्ये चीनमा भने कुनै पनि वायुसेवा कम्पनीले नियिमत उडानको प्रस्ताव पेश गरेनन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.