पार्टीका सम्पूर्ण अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजित

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीका सम्बन्धमा आवश्यक निर्णय लिन अधिकार प्रत्यायोजन गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विज्ञप्ति जारी गर्दै जानकारी दिए।

उनका अनुसार बैठकले नेता माधवकुमार नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेलाई गरिएको निलम्बनको कारवाही फुकुवा गर्ने निर्णय गरेको छ । उनले पार्टीभित्र विकसित पछिल्ला घटनाक्रमको समीक्षा गर्दै एकताको रक्षाका लागि विगतका सबै तीता कुरा बिर्सिएर अगाडि बढ्ने जनाउँदै सो प्रयोजनका लागि पार्टी नेताहरुको कारवाही फुकुवा गरिएको बताए ।

पार्टी एकताको बृहत्तर हितलाई ध्यानमा राखेर आवश्यक कदम चालिने र असन्तुष्ट पक्षसँंग वार्ता गरिने जानकारी उनले दिए । उनले भने, “आफ्नै नेतृत्वको सरकार ढालेर विपक्षको सरकार बनाउनका निम्ति कारक नबन्न सबैलाई आह्वान गरिएको छ ।”

Facebook Comments