भारतबाट फर्कने अस्ट्रेलियाली नागरिकलाई पाँच वर्षसम्म जेल हुन सक्ने

भारतको यात्रालाई हालका लागि गैरकानुनी बनाएको अस्ट्रेलियाली सरकारले त्यहाँबाट फर्कने आफ्ना नागरिकलाई पाँच वर्षसम्म जेलसजाय दिन सकिने बताएको छ।

भारतमा कोरोनाभाइरस सङ्क्रमित भई क्वारन्टीनमा बसिरहेका अस्ट्रेलियाका नागरिकहरूको सङ्ख्याका आधारमाू पछिल्लो निर्णय लिइएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ।

यसै साताको शुरूतिर अस्ट्रेलियाबाट भारतबाट हुने सबै उडानहरूमाथि प्रतिबन्ध लगाएको थियो। भारतमा हाल अनुमानित नौ हजार अस्ट्रेलियाली नागरिक रहेको र तीमध्ये ६०० जनालाई जोखिम समूहमा राखिएको छ।

सरकारी चेतावनी
भारतबाट फर्किरहेका अस्ट्रेलियाका नागरिकको सङ्ख्यासँग सरकारको कदम असुहाउँदो भएको एक चिकित्सकले अस्ट्रेलियाको टेलिभिजनलाई भने। ‘हाम्रा परिवारहरू भारतमा मरिरहेका छन्। त्यहाँबाट निस्कनुको विकल्प नै छैन। यो सरकारी कदम त उनीहरूलाई परित्याग गर्न बनाएको जस्तो छ’ जीपी तथा स्वास्थ्य टिप्पणीकार व्योम शार्मरले भने।

सोमवारबाट लागु हुने गरी अस्ट्रेलिया पुग्नु १४ दिनअघि भारतमा रहेको भए त्यस्ता मानिसहरूलाई स्वदेश फर्कन प्रतिबन्ध लगाइएको छ। त्यसको उल्लङ्घन गर्नेहरूलाई पाँच वर्षसम्म जेल सजाय वा ६६ हजार अस्ट्रेलियाली डलर जरिवाना अथवा दुवै सजाय हुन सक्छ।

‘सरकारले यी निर्णयहरू हल्का ढङ्गले लिएको होइन’स्वास्थ्यमन्त्री ग्रेग हन्टले वक्तव्यमा भनेका छन्। भारतमा कोरोनाभाइरस सङ्क्रमणको उच्च दरलाई ध्यानमा राख्दै कैयौँ मुलुकले उडानमा प्रतिबन्ध लगाइसकेका छन्।

भारतमा शुक्रवार ४,०८,३२३ नयाँ सङ्क्रमित थपिएका छन्। एकै दिन यो सङ्ख्यामा हालसम्म विश्वको कुनै पनि देशमा सङ्क्रमित थपिएका छैनन्।भारतमा पछिल्लो केही दिनयता दैनिक ३ लाखभन्दा बढी सङ्क्रमितहरू थपिने गरेका छन्। पछिल्लो एक हप्तामा मात्र १० लाखभन्दा बढी नयाँ सङ्क्रमितहरू थपिएका छन्।

भारतमा हालसम्म १,९१,६३,४८८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने २,११,७७८ जनाको कोभिड १९ बाट मृत्यु भएको तथ्याङ्क छ।-बीबीसी

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.