स्वास्थ्य मन्त्रालयले कोभिड सङ्क्रमणको अवस्था झल्काउन तयार पारेको नेपालको नक्शा, गाढा रातो रङले ४०० भन्दा बढी बिरामी रहेको, हल्का रातो रङले २००-४००, सुन्तला रङले २०० सम्म बिरामी रहेको जनाउँछ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाभाइरस सङ्क्रमणको हिसाबले नेपालका २२ जिल्ला अति प्रभावित रहेको जनाउँदै मानिसहरूलाई संवेदनशील हुन शुक्रवार सार्वजनिक अपिल गरेको थियो।
मन्त्रालयले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाण्डू, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रूपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरलाई अति प्रभावित जिल्लामा राखेको छ।
‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइरहेको छ’ मन्त्रालयद्वारा शुक्रवार जारी विज्ञप्तिमा भनिएको छ।
जुनसुकै मार्गबाट देशभित्र वा बाहिर यात्रा नगर्न तथा सार्वजनिक स्थलहरूमा भिडभाड नगर्न एवम् जनस्वास्थ्यसम्बन्धी मापदण्डहरू कडाइका साथ पालना गर्न पनि मन्त्रालयले अपिल गरेको छ।
कुन प्रदेशको अवस्था कस्तो ?
वाग्मतीमा प्रदेशमा सबैभन्दा धेरै १९,२९६ जना सक्रिय सङ्क्रमित छन् भने दोस्रो धेरै १०,२६२ सक्रिय सङ्क्रमित लुम्बिनी प्रदेशमा छन्।
त्यसैगरी प्रदेन नं २ मा २,२९६, प्रदेश नं १ मा २,०७४, गण्डकी प्रदेशमा १,९६०, सुदूरपश्चिम प्रदेशमा १,८०१ र कर्णाली प्रदेशमा १,१२४ सक्रिय सङ्क्रमित छन्।
मृत्युको हिसाबले पनि वाग्मती प्रदेश शीर्ष स्थानमा छ। त्यहाँ शुक्रवारसम्म १,६९६ जनाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।
लुम्बिनी प्रदेशमा ५०५ जना, प्रदेश नं १ मा ४८९ जना, गण्डकी प्रदेशमा ३४३, प्रदेश नं २ मा २९६, सुदूरपश्चिम १११ र कर्णाली प्रदेशमा ३९ जनाको मृत्यु भएको छ।
वाग्मती प्रदेशमा १४४ जना आईसीयूमा उपचाररत छन् भने लुम्बिनी प्रदेशमा ८४ जना, प्रदेश नं १ मा ४० जना, कर्णाली प्रदेशमा २७, सुदूरपश्चिम प्रदेशमा २२ जना, प्रदेश नं २ मा ९ र गण्डकी प्रदेशमा ५ जना आईसीयूमा छन्।
भेन्टिलेटरमा वाग्मती प्रदेशमा ७२ जना, लुम्बिनी प्रदेशमा २०, कर्णाली र सुदूरपश्चिममा ७र७, प्रदेश नं १ मा ६ जना, प्रदेश नं २ मा २ र गण्डकीमा एकजना छन्।-बीबीसी
Facebook Comments