कसको समर्थनमा जसपा ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर सत्ता समीकरणको राजनीतिमा तानातानमा परेका छन्।

सत्ता टिकाउन प्रधानमन्त्री केपी शर्मा ओली र नयाँ सरकारको नेतृत्व दाबी गरेको नेपाली कांग्रेसले जसपालाई आआफ्नो कित्तामा उभ्याउन वार्ता गरिरहेका छन्। माओवादी केन्द्रले पनि ठाकुरसँग संवाद जारी राखेको छ। यसैक्रममा आइतबार ठाकुरसँग नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भेट गरेका छन्।

पौडेल ठाकुरलाई भेट्न आइतबार बिहान उनको निवास सानोठिमी पुगेका थिए। नयाँ सरकार निर्माणमा नेपाली कांग्रेस र जसपा एक ठाउँमा उभिनुपर्ने कुरा भेटमा पौडलले बताएका थिए। पौडेलले कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा मागेको र उनलाई जतिसक्दो चाँडो हटाउनु पर्ने बताएका थिए।

ठाकुर निकट जसपाका नेता डा.सुरेन्द्र झाले पौडेलले नयाँ सरकार निर्माणको विषयमा कुराकानी गरेको जानकारी दिए। पौडेलले शेरबहादुर देउवाबाहेक अर्को व्यक्तिलाई पनि कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गर्न सक्ने धारणा राखेको झाले बताए। ‘कांग्रेस नेतृत्वमा नयाँ सरकार निर्माण गर्ने निर्णय पार्टीले गरेको छ। तर नयाँ सरकारको नेतृत्व देउवाबाहेक अर्को व्यक्तिले पनि गर्न सक्छ भन्ने धारणा पौडैलजीको रह्यो’, झाले भने, ‘उनले अर्को व्यक्ति को हुन सक्छ भन्नेबारेमा भने खुलाउनु भएन।’

नेता झाका अनुसार भेटवार्तामा जसपासँग छलफल नै नगरी कांग्रेस नेतृत्वमा नयाँ सरकार निर्माण गर्ने निर्णयप्रति ठाकुरले आपत्ति प्रकट गरेका थिए। ‘कांग्रेसले अन्य पार्टीहरूसँग छलफल गरेरमात्र नेतृत्वको विषय टुंग्याउनुपर्नेमा पहिले नै आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ’, झाले भने, ‘यो भनेको अर्घेल्याइँ गरेको जस्तो देखियो।’

पौडेलसँगको भेटमा ठाकुरले जसपाले उठाउँदै आएका मुद्दा जसले पूरा गर्छ, उसैलाई समर्थन गर्ने पार्टी नीति रहेको बताएका थिए। पछिल्लो समय ठाकुर प्रधानमन्त्री ओलीसँग पनि निरन्तर छलफल र सम्पर्कमा छन्। ठाकुरसँग अहिले ओली, कांग्रेस र माओवादी केन्द्रले सत्ता समीकरणमा साझेदारीको प्रस्ताव गरेका छन्। तर ठाकुर भने ओलीसँग निकट देखिएका छन्। प्रधानमन्त्री ओलीले जसपाले उठाएका माग पूरा गर्ने आश्वासन दिएकाले ठाकुरले उनीसँग धेरै छलफल जारी राखेको नेता मनीष सुमनले बताए।-नागरिक दैनिकबाट

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.