गुल्मी। आज (सोमबार) कोरोना पुष्टि भएका गुल्मीका एक व्यक्ति विद्यालयका प्रधानाध्यापक रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार संक्रमित व्यक्ति मदाने गाउँपालिका– ६ पुर्कोट दहका हुन् । अहिले प्रधानाध्यापकको घर शिल गर्ने तयारी भइरहेको मदाने गाउँपालिकाले जनाएको छ ।
शिक्षण पेसामा आवद्ध उनी धेरै दिनदेखि घरैमा भएकाले ट्राभल हिस्टी नभएको मदाने गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले बताएका छन् । कोरोना भाइरस संक्रमित रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा उपचाररत विरामी भएको पाइएको छ ।
जण्डिस र निमोनिया भएको भन्दै आफन्तले १ जेठमा क्रिमसन अस्पताल भर्ना गरेका थिए । क्रिमसन चिकित्सकहरुले भने एक्यिुट इन्सेफलाइटिस सिन्ड्रोम देखिएको र निमोनिया भएको भन्दै दुई दिन आईसीयूमा राखेर उपचार गरेका थिए ।
स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटर (कृतिम श्वास प्रश्वास) मा राखेर उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । उनको २ गते थ्रोट स्वाब संकलन गरेको थियो र भैरहवास्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो ।
Facebook Comments