काँग्रेस, जसपा र दाहाल-नेपालमाथि प्रधानमन्त्रीले लगाए गम्भीर आरोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमण विरुद्धको कानुन रोक्न दलका नेताहरुले संसदमा सेटिङ गरेको गम्भीर आरोप लगाएका छन्।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एसिड आक्रमणविरुद्धको कानुन रोक्न दाहाल-नेपाल समूह, नेपाली कांग्रेस र जसपाले अवरोध गरेको आरोप लगाए।

एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई समारोहमा सम्मान गरिसकेपछि बोलेका ओलीले एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्ने हिम्मत नभएकाले पेश गर्नै नदिएर अवरोध गरेको बताए।

‘यतिबेला देश चुनावमा जान्थ्यो। राम्रो सरकार बन्थ्यो। मुद्दा हालेर त्यसलाई रोके। अनि संसद पुनर्स्थापना किन गरेको रहेछ भन्दा उफ्रिन, नारा लगाउन, कराउन, अध्यादेश पेश गर्न नदिन, एसिड आक्रमणका विरुद्धको कानुन पास गर्न नदिनका लागि पो बोलाएको रहेछ,’ ओलीले भने।

प्रधानमन्त्री ओलीले उफ्रेर, धामी नाच देखाउनुभन्दा संसदलाई जनता समस्यामाथि छलफल गर्ने र समाधान खोज्ने थलो बनाउन पनि आग्रह गरे।

‘संसद पुनर्स्थापना भयो ठीक छ। अदालतको आदेश मान्छौं। पुनर्स्थापित संसदलाई देशका जनताका समस्या छलफल गर्ने समाधान कसरी निकाल्ने थलो बनाउँ। माननीयले बोल्ने भाषा जस्तै बोलेर छलफल गरौं न। छलफल गरेको हो कि उफ्रेको हो कि? धामी नाच हो कि संसदमा?,’ ओलीले प्रश्न गरे।

ओलीले अध्यादेश फेल गर्ने ताकत नभएपछि सुरुमै अवरोध गरिएको आरोप लगाए।

‘हिजो पहिलो दिन औपचारिक ढंगले संसद सुरु भएको छ। गुरुरु कुदेर आएर नारा लगाएका छन्। के बिग्रियो भन्दा त एसिड आक्रमण विरुद्धको अध्यादेश टेबल गर्न किन आएको सरकार रे? फेल गरे भइगो नि सक्छौं भने। फेल गर्ने आँट कसैको छ? मन पनि परेको छैन। फेल गर्ने आँट छैन। अनि रोस्टम घेरेर अध्यादेश पेस गर्न पाइँदैन भनेर नाराबाजी गरेको छ,’ ओलीले भने।

प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा आएको फैसलाको जयजयकार गर्ने विपक्षमा आउँदा उत्पातै गर्ने प्रवृत्तिको आलोचना गरे।

‘प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भनेर मुद्दा लडेर झगडीयाले जस्तो, सीमानाको झगडाजस्तो राजनीतिक मुद्दा। जे होस् मुद्दा लडेर आइसकेपछि ताजुब देखियो। एउटा फैसला अदालतको जयजयकार। अर्को फैसला के फैसला गरेको यो राजनीतिमा हात हाल्न पाइन्छ? अदालतको फैसला मान्ने भनेपछि मान्ने। शक्ति पृथकीकरण र न्यायालयको स्वतन्त्रताको सिद्धान्त र फैसलाको सम्मान गर्ने सवालमा मेरो पक्षमा भएपछि सम्मान गर्ने, पक्षमा भएन भने… मैले त जुन पनि मुद्दा हारिराखेको छु। सम्मान गरेको छु। कार्यान्वयन गर्ने भनेको छु,’ उनले भने।

संसदमा लफडा हुने देखेर नै आफूले पहिल्यै विघटन गरेको ओलीको तर्क थियो।

‘मैले प्रतिनिधिसभा विघटन गरेँ। यो दिन देख्नु थियो, पुनर्स्थापना भयो। चुनावमा जाने बेलामा नारा जुलुस हेर्नुस् त। एकातिरबाट एकथरी गुरुरु कुद्छन्। अर्कोतिरबाट अर्कोथरी गुरुरु बाहिर निस्कन्छन्। अर्कोथरी नारा लगाउँछन्। संसदको हालत हेर्नुस् त। पहिलो गाँसै झिंगा परेजस्तो,’ उनले भने।

कार्यक्रममा ओलीले संसदको प्रसंग एसिड आक्रमणविरुद्धको अध्यादेश पेश गर्न नदिएको सन्दर्भमा भनेको प्रष्टिकरण पनि दिए। ‘उहाँहरुसँग जुहारी खेल्ने मन पनि छैन। अर्थ पनि छैन। मतलब पनि छैन,’ उनले भने।

ओलीले अध्यादेश रोक्न संसदमा सेटिङ भएको पनि आरोप लगाए। ‘एसिड आक्रमण विरोधी सजाय गर्ने अध्यादेश जव पेश हुन थाल्यो त्यति बेला नेपाली कांग्रेस, मधेशवादी दल, अरु कोही बाहिर कुदेर बाहिर निस्किए। कहाँ हिँड्या हुन्, के हतार थियो खै? कोही रोस्टम घेरेर नारा लगाएर गजबको सेटिङ देखियो। गजबको सेटिङ। सांसदले आफ्नो मर्यादा कायम गर्नु पर्दैन?,’ उनले भने।

संसदमा देखिएको गतिविधिले आफूले गरेको विघटन नै ठिक रहेको ओलीको तर्क थियो। ‘चुनावबाट आउने थियो नयाँ संसद। यस्तो हालत हुने थिएन। यस्तै हुन्छ भन्ने देखेर विघटन गरेको थिएँ। कमसेकम मेरै मेख मार्न पनि हिजो चुप लागेर बस्नु पर्थ्यो नि। हामीले मुद्दा लडेर जिताएपछि यति शान्त चल्छ संसद भनेर देखाउनु पर्थ्यो नि। हेर्नुस् त हालत,’ उनले भने।

Facebook Comments