काठमाडौंमा पुनः देखियो बर्डफ्लु, परीक्षणका लागि प्रयोगशाला अभाव

काठमाडौं । काठमाडौंमा पुनः बर्डफ्लु रोग देखापरेको छ । यसअघि माघ १६ गते काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ७ साङ्लेखोला फुटुङमा बर्डफ्लु देखापरेको थियो । त्यसपछि पशुसेवा विभागले उक्त क्षेत्रलगायत देशका अन्य शंकास्पद स्थानमा समेत सघन रूपमा निगरानी गरी परीक्षण गरिरहेको थियो ।

त्यसै क्रममा तारकेश्वर नगरपालिकाकै वडा नं १ मा स्थानीय कृषकले पालेका हाँसको नमूना परीक्षण गर्दा माघ २७ गते पुनः बर्डफ्लु रोग प्रमाणित भएको हो । विभागले बिहीवार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।

रोग पुष्टि भएसँगै थप फैलन नदिई नियन्त्रणमा लिन विभागले पशुसेवासँग सम्बद्ध निकायहरूलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पशुपन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरेको छ । सो क्रममा १४ सय २१ हाँस, ४२ ओटा कुखुरा, २६ ओटा अण्डा, र ८ सय केजी दाना नष्ट गरी उक्त क्षेत्रलाई पूर्णरूपमा निःसंक्रमण गरिएको छ ।

पटकपटक संक्रामक रोग देखापरिरहँदा त्यसको पर्याप्त मात्रामा परीक्षणका लागि प्रयोगशालाको अभाव भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले बताए । उनका अनुसार मन्त्रालयको मातहतमा पूर्णरूपमा चलिरहेका आठओटा प्रयोगशालामध्ये हाल पाँचओटा प्रयोगशाला स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षणका लागि प्रयोग गरिरहेको छ । बाँकी तीनओटामा मात्रै बर्डफ्लुको नमूना परीक्षणको काम भइरहेको छ । ‘यो हाम्रा लागि अपर्याप्त नै हो । चाँडोभन्दा चाँडो थप प्रयोगशालाको व्यवस्था नभए परीक्षणका लागि समस्या पर्न सक्छ,’ उनले भने । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले लेखेका छन् ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.