बालुवाटार प्रदर्शन गर्न पुगेका मानवअधिकारकर्मी पक्राउ

काठमाडाैं । संसद विघटनविरूद्ध बालुवाटारमा भएकाे प्रदर्शनमा प्रहरीले मानव अधिकारकर्मी कृष्ण पहाडीसहित २६ जनालाई पक्राउ गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका गलत कदमविरुद्ध प्रदर्शन गर्न सोमबार बालुवाटारमा पुगेका पहाडी लगायत २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मानवअधिकार तथा शान्ति समाजले अ‍ोली सरकारद्वारा अदालतलाई प्रभाव पार्न गरेको दुस्प्रयासविरुद्ध, राज्यसंयन्त्रको दुरुपयोगविरुद्ध, प्रधानमन्त्री र मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति र किर्तेतन्त्रविरुद्ध प्रदर्शन गरेको हो ।

संसद विघटनविरूद्ध देशका विभिन्न स्थानमा अहिले विराेध प्रदर्शन भइरहेकाे छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पनि २ धारमा विभाजित बनेकाे छ । ओली पक्षका नेताहरूले संसद विघटन सान्दर्भीक भएकाे दावी गरिरहेका छन् ।

भने नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-माधबकुमार नेपाल समूहले संसद पुनर्स्थापनाकाे माग गर्दै विभिन्न चरणका आन्दाेलनका कार्यक्रम सार्वजनिक गरेकाे छ ।

Facebook Comments