मन्त्रिपरिषद बैठक शुरु, नीति तथा कार्यक्रमबारे छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनानुसार आइतबार मध्याह्न बोलाइएको बैठक केही समय अगाडिदेखि शुरु भएको हो ।

बालुवाटार स्राेतका अनुसार सरकारका नीति तथा कार्यक्रमका विषयमा छलफल गर्न बैठक बोलाइएको छ। संवैधानिक व्यवस्थाअनुसार आगामी जेठ १५ भित्र सरकारले आगामी आर्थिक वर्षको वार्षिक बजेट सार्वजनिक गरिसक्नु पर्ने हुन्छ ।

बजेट सार्वजनिक गर्नु अगाडि सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्नु पर्ने हुन्छ । हालसम्म शुरु भइसक्नुपर्ने संसदको बजेट अधिवेशन कोरोना भाइरसको महामारीका कारण शुरु हुन सकेको छैन ।

संघीय संसद सचिवालयले संसदको बजेट अधिवेशन सञ्चालन गर्नका लागि आवश्यक तयारी लगभग पूरा भइसकेको जनाएको छ । सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री ओलीलाई भेटेरै जतिसक्दो छिटो संघीय संसदको बजेट अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्न आग्रह गरेका छन् ।

Facebook Comments