पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन्।

नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गरे ।

अध्यक्ष ओलीले पार्टीले ‘जनताको बहुदलीय जनवाद’को मूलभूत विचारको मार्गदर्शनका आधारमा हाल ‘जनताको जनवाद’को विचार लिएको र यसलाई क्रमशः परिमार्जन गर्न सकिने जनाउँदै पार्टी विभाजन गर्न खोज्नेहरुसँग कुनै विचार नभएको जिकिर गरे ।

कतिपय नेताले युवालाई भड्काउन खोजेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले सरकार र आफूहरु शान्तिपूर्ण गतिविधिका पक्षमा रहेको स्पष्ट गरे।