देउवा र पौडेलबीच भेटवार्ता, भोलिको केन्द्रीय समिति बैठक सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । सभापति देउवा वरिष्ठ नेता पौडेललाई भेट्न सोमबार अपरान्ह पौडेलको निवास बोहोराटार पुगेका हुन्।

बोहोराटारमा देउवा र पौडेलबीच करिब एक घण्टा संवाद भएको थियो । असोज १२ मा पौडेल पक्षले केन्द्रीय समितिमा पेस गरेको विरोध पत्रका विषयमा छलफल भएको पौडेलको सचिवालयले जनाएको छ ।

गत बुधबार नेकपाका प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आफूसँग राखेको प्रस्तावबारे पनि देउवाले पौडेललाई जानकारी गराएका छन् । प्रचण्ड र नेपालले सडक संघर्ष, केन्द्रदेखि प्रदेशको सत्ता र निर्वाचनको समीकरणका सन्दर्भमा देउवा सामूह प्रस्ताव राखेका थिए ।

यता भोलि (मंगलबार)लाई बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सारिएको छ। अब केन्द्रीय समिति बैठक माघ १३ गते बस्ने कांग्रेसले जनाएको छ।