कोरोना संक्रमित भागे प्रहरीले गोली चलाउन सक्ने

काठमाडौं । पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली समेत चलाउन सक्ने भएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले यो निर्णय गरेको हो ।

बैठकको निर्णय नं. ३ मा भनिएको छ, ‘अब उप्रान्त भर्ना भएका संक्रमित भाग्न नदिन सुरक्षा निकायले उच्च सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने र यसका लागि सुरक्षा निकायलाई गोली समेत चलाउन सक्ने अधिकारी प्रदान गर्ने ।’

बिहीबार नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जना संक्रमित फरार भएका थिए ।

बैठकले स्थानीय प्रशासन ऐनअनुसार ३० वैशाखदेखि लागू गरिएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउने पनि निर्णय गरेको छ ।

निषेधाज्ञा थप कडा पारिने

जिल्लामा कोभिड–१९ का संक्रमणका शंकास्पद व्यक्ति बढ्दै गएकाले तीमध्ये स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनको रुपमा पहिचान गरिएका होटलमा र अन्य सबै व्यक्तिलाई संकट व्यवस्थापन केन्द्रले तोकेको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने पनि बैठकको निर्णयमा भनिएको छ ।

साथै, कसैले तोकिएको सर्त र मापदण्ड अनुसार सुरक्षाकर्मीको निगरानीमा रहने गरी आफ्नै खर्चमा कुनै भवन भाडामा लिएर समूहमा बस्न चाहे पनि त्यसका लागि पनि अनुमति दिने निर्णय भएको छ ।

बैठकले कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङका लागि जिल्ला स्वस्थ्य कार्यालयको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सम्बन्धित स्थानीय तहको प्रतिनिधि रहेको कार्यदल गठन गर्ने पनि निर्णय गरेको छ ।

बैठकमा नारायणी अस्प्तालका डा. मदन उपाध्याय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, नेपाली सेनाको चण्डीप्रसाद गणका प्रमुख सेनानी मदनजंग राणा, नेपाल प्रहरीकी एसपी गंगा पन्त, सशस्त्र प्रहरीका एसपी दिवेन्द्र कुँवर, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक कुमार खड्का र वीरगञ्ज महानगरका मेयर विजयकुमार सरावगी उपस्थित थिए ।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.