ऊर्जामन्त्री रायमाझी भन्छन् – एमसीसीबारे तत्काल निर्णय लिनुपर्छ

रूपन्देही । ऊर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले एमसीसीबारे तत्काल निर्णय गर्नुपर्ने बताएका छन् ।

रिपोटर्स क्लब लुम्बिनीले शुक्रबार बुटवलमा गरेको साक्षात्कारमा उनले विद्युत् उत्पादन बढ्दै गएको तर विस्तार गर्न ट्रान्समिसन लाइन नभएकाले पनि अब एमसीसीबारे निर्णय लिनुपर्ने बताए ।

‘एमसीसी लागू गर्नै हुन्न भने खारेज गर्नुपर्‍यो, नत्र लागू गर्नुपर्‍यो । हुन्छ कि हुन्न भनेर कुरिराख्न भएन,’ उनले भने, ‘कुर्ने एक सेकेन्ड फुर्सद छैन ।’ उर्जामन्त्री रायमाझीले आउँदो जेठसम्म ५० मेगावाट र अर्को भदौसम्म ५ सय मेगावाट विद्युत् बढी हुने भए पनि ट्रान्समिटर लाइन विस्तार नहुँदा त्यसलाई बेच्न सक्ने आधार तयार नभएको बताए ।

यसले गर्दा दैनिक एक अर्बबराबरको घाटा लाग्न सक्ने उनको भनाइ छ । एमसीसी राष्ट्रहितको विपरीत नै छ भने दल, नागरिक समाज एक ठाउँमा उभिनु पर्ने बताए ।

Facebook Comments