१५ वर्ष अगाडि गैंडा मारेको अभियोगमा ‘शार्प सुटर’ चौधरी पक्राउ

चितवन । १५ वर्ष अघि गैंडा मार्ने सूर्य महतो नामले चिनिने सुरज चौधरी पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जले १५ वर्ष अघि गैंडा मारेको अभियोगमा बिहीबार उनलाई पक्राउ गरेको हो ।

२०६२ साल असार दोस्रो साता चौधरीको समूहले निकुञ्जभित्रको सिसुवाघाट पारी भालुटापु भन्ने स्थानमा गोली हानेर एक सिंगे गैंडा मरेको थियो।

चौधरीका समूहका अन्य तीन जना पक्राउ परेर छुटिसकेका भएपनि डालाई गोली हान्ने मूख्य अभियुक्त चौधरी भने फरार थिए ।

चौधरीविरुद्ध २०६२ साल असोज १२ गते गैंडा तस्करीको मुद्दा दर्ता भएको थियो। २०६४ पुष २० गते मुद्दाको फैसला गर्दै उनलाई १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिमाना तोकिएको थियो।

चौधरीका समूहका अन्यलाई पनि समान सजाय तोकिएकोमा पुनरावेदन अदालतमा पुनरावेदन गरेर १० वर्षमा छुटेको बताइएको छ ।

निकुञ्ज प्रशासनका अनुसार अहिले सुरज चौधरीको नामले चिनिने सूर्य महतो यो १५ वर्षको अवधिमा सुरज चौधरी नामको राहदानी बनाई दुई पटक कतार पुरेर फर्किसकेका रहेछन् ।

चौधरी लकडाउन अघिमात्रै कतारबाट फर्किएका हुन् । चौधरी नेपाली सेनाका भगौडा रहेको पनि खुलेको छ । निकुञ्जमा गैंडा मार्न सकृय गिरोहले भगौडा ‘शार्प सुटर’ चौधरीलाई प्रयोग गरेको बताइएको छ ।

निकुञ्जका अनुसार यस आर्थिक वर्षमा मात्रै चितवन निकुञ्ज भित्र १७ वटा एक सिंगे गैंडा मरेका छन्। ती मध्ये ४ वटालाई सिकारीले मारेको भेटिएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.