नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे ७० औँ सचिवालय बैठक शुरु भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएकाे बैठक प्रधानमन्त्रीसमेत रहेकाे नेकपा अध्यक्ष केपी शर्मा ओली धुम्बाराही जान नमाने पछि बालुवाटारमा नै बैठक बसेकाे हाे ।

नेकपा अहिले विभाजनकाे खतरामा रहेकाे छ । पार्टी विभाजनतिर पुगेको अवस्थामा दुई अध्यक्षको पत्र र जवाफपछि आज बस्न लागेको बैठकलाई अर्थपूर्ण मानिएको छ । त्यसैले पनि बैठकमा साझा प्रस्ताव बन्ने र स्थायी कमिटीमा लैजाने संभावनाका सम्बन्धमा धेरैले चासो दिएका छन् ।

गत मंसिर १३ गते बसेको सचिवालय बैठकले तय गरेको आजको बैठकलाई महत्वपूर्ण मानिनुको अर्को कारण प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको जवाफ पनि हाे ।

गत १३ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिएका थिए भने पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयको गत कात्तिक २८ गतेको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्र अस्वीकार गरी आफ्ना भनाइ राखेका थिए ।

गत मङ्सिर ३ गतेको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरेअनुसार लिखित जवाफ दिन उनलाई १० दिनको समय दिएको थियो ।

Facebook Comments