फाइजर भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी भएको अन्तिम निष्कर्ष, प्रयोगका लागि केहीदिनमै आवेदन

एजेन्सी । अमेरिकन कम्पनी फाइजर र जर्मन कम्पनी बायो एनटेक मिलेर बनाइरहेको कोरोनाबिरुद्धको भ्याक्सिनको अन्तिम विश्लेषण सार्वजनिक गरिएको छ । यो भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी र सुरक्षित रहेको अन्तिम निष्कर्ष निकालिएको छ । बुधबार कम्पनीले तेश्रो चरणको परीक्षणको अन्तिम तथ्यांक विश्लेषण सार्वजनिक गरेको हो ।

अब यो भ्याक्सिनले सुरक्षाको मुख्य कोशेढुंगा पार गरेको छ भने केही दिनमा नै अमेरिकाको खाद्य तथा औषधी प्रशासनबाट प्रयोगका लागि स्वीकृतिको आवेदन दिने भएको छ । एफडीएले स्वीकृति दिएमा यो भ्याक्सिन एफडीए स्वीकृत पहिलो कोरोनाबिरुद्धको भ्याक्सिन हुनेछ । सरकारबाट स्वीकृति पाएमा यो भ्याक्सिनले आगामी डिसेम्बरमा रातारात करोडौं डोज भ्याक्सिन सप्लाई गर्ने योजना बनाएको छ ।

गतसातामात्र प्रारम्भिक विश्लेषणमा यो भ्याक्सिन ९० प्रतिशतभन्दा बढी प्रभावकारी र सुरक्षित रहेको निष्कर्ष निकालिएको थियो । ४३ हजार स्वयंसेवकहरुमा गरिएको परीक्षणपछि यस्तो निष्कर्ष निकालिएको थियो । सहभागीमध्ये सुरुमा ९४ जनामा र पछि कुल १७० जनामा कोरोनाको लक्षण देखिएको थियो ।

१७० मध्ये १६२ जनामा सलाइन शटमात्र दिइएको थियो भने वास्तविक भ्याक्सिन दिइएका ८ जना पनि संक्रमित भएका थिए । यसको अर्थ फाइजर भ्याक्सिन लक्षणयुक्त कोरोना संक्रमण रोक्नमा औषतमा ९५ प्रतिशत प्रभावकारी रहेको निष्कर्ष निकालिएको छ ।

भ्याक्सिनले इम्युनको कुन स्तर निर्माण गर्छ भन्ने अझै स्पष्ट छैन । भ्याक्सिन कतिलामोसमयसम्म प्रभावकारी हुन्छ भने निर्धारण गर्न स्वयंसेवकहरुलाई २ बर्षसम्म फ्लो गरिनेछ । यसअगाडि अमेरिकन कम्पनी मोडेर्नाको प्रारम्भिक तथ्यांक विश्लेषणमा ९४ दशमलव ५ प्रतिशत सुरक्षित र प्रभावकारी रहेको निष्कर्ष निकालिएको थियो ।

भ्याक्सिनको दुईमहिनाको सुरक्षा तथ्यांक हेरेर एफडीएले आपतकालिन प्रयोगका लागि स्वीकृति दिनसक्नेछ । फाइजर अब आगामी दिनमा प्रयोगको स्वीकृतिका लागि आवेदन दिनसक्ने योग्यता पूरा गरिसकेको छ । एफडीएले फाइजरको आवेदन पाइसकेपछि विज्ञहरुको सुझाव लिनेछ । र, विज्ञहरुको सुझावका आधारमा भ्याक्सिनलाई आपतकालिन प्रयोगको अनुमति दिने वा नदिने निर्धारण गर्नेछ ।

फाइजरको भ्याक्सिन स्वीकृत भएमा भने वितरणमा केहीसमस्या आउनसक्ने जनाइएको छ । किनभने यो भ्याक्सिनलाई माइनस ९४ डिग्रि फरेनहाइट चिसो तापक्रममा राख्नुपर्छ । बुधबार सार्वजनिक गरिएको तथ्यांकमा यो भ्याक्सिन सबै जाती र संजाती समुहहरुमा प्रभावकारी रहेको पाइएको छ । साथै ६५ बर्षभन्दा माथिकाहरुमा यो भ्याक्सिन ९४ प्रतिशतभन्दा माथि प्रभावकारी देखिएको छ ।

फाइजर र बायो एनटेकले युरोपमा वितरणका लागि युरोपियन मेडिसिन एजेन्सीसँग पनि स्वीकृतिका लागि आवेदन दिने भएको छ । फाइजरले सन् २०२० भित्रै ५० मिलियन भ्याक्सिन उत्पादन गर्नसक्ने बताएको छ । जुन २५ मिलियनलाई दिन प्रयाप्त हुनेछ । यो भ्याक्सिन हरेकलाई २ शट दिनुपर्छ । आगामीबर्षसम्म फाइजरले १ दशमलव ३ बिलियन भ्याक्सिनका डोज उत्पादन गर्नसक्ने जनाइएको छ ।

Facebook Comments