प्यूठानमा देउसीभैलो खेल्न रोक

प्यूठान । जिल्ला प्रशासन कार्यालय प्यूठानले तिहारमा देउसी भैलो खेल्न राेक लगाएकाे छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै प्रशासनले शुक्रबार सूचना जारी गर्दै विभिन्न धार्मिक मठ मन्दिर तथा शक्तिपिठहरुमा नृत्य पूजाबाहेकका सबै किसिमका धार्मिक कार्यहरु नगर्न/नगराउन भनेको हो ।

देउसी भैलो, डल्ले सराय, चितिखोला, सराय नाच लगायतका जात्रा, मेला, खेलकुद नगराउन आदेश गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । उनका अनुसार संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम जिल्लाभर उक्त आदेश गरिएको छ ।

त्यस्तै चाडपर्वमा भिडभाड हुने भएकाले व्यवसायी तथा उपभोक्ताले सामाजिक दुरी कायम गर्ने, अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न समेत आदेश गरिएको छ ।

छोटो, मध्यम र लामो दुरीमा चल्ने सार्वजनिक यातायातका साधनहरुमा सिट क्षमताभन्दा बढी यात्रुहरु नराख्ने, स्वास्थ्य मापदण्ड पालना गर्ने, सवारीसाधनलाई सडकको दायाँबायाँ जथाभावी पार्किङ्ग नगर्न समेत आदेश गरिएको प्रजिअ भुसालले बताए ।

Facebook Comments