काठमाडौँ । भोलिदेखि नेपालका सरकारी कार्यालय समेत बन्द गर्ने गरी तयारी थालिएको छ । आज बुधबारसम्म सरकारी तथा सार्वजनिक कार्यालय खुल्लै रहेका थिए । तर, प्रधानमन्त्रीको सम्बोधन अनुरुप अब अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान लगायत सबै कार्यालय ठप्प हुनेछन् । यसको अर्थ सरकारी कार्यालयका कर्मचारीले अफिस जानुपर्ने बाध्यता रहने छैन ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गर्न लागेको समितिका सदस्य तथा एक मन्त्रीले जानकारी दिएका छन् ।सरकारी कार्यालय खुल्दा सर्वसाधारणको भीडभाड कम नभएपछि र मंगलबार नै काठमाडौँ उपत्यकामा ३ जना कोरोना संक्रमित फेला परेपछि अवस्था जुनसुकै बेला भयावह हुने विश्लेषणसहित सरकारी कर्मचारीलाई पनि विदा दिन लागिएको हो ।
सम्भवतः बिहीबारदेखि नै सरकारी कर्मचारी पनि अफिस जानैपर्ने अवस्था रहने छैन । यसैबीच, बिहीबारदेखि सरकारले सुरक्षाकर्मी परिचालन गरेरै भए पनि सर्वसाधारणलाई घरबाट निस्किन दिइने छैन । यसका लागि काठमाडौँका विभिन्न क्षेत्रमा प्रहरीले बुधबार बिहानैदेखि माइकिङ समेत गरिरहेको छ । बारम्बार सूचित गर्दा पनि कोही कसैले अटेर गरी घरबाट निस्किए उसलाई पक्राउ गरेर कारबाही गर्नेसम्मको नीति सरकारले लिन लागेको छ ।
पोखरेल संयोजक रहेको समितिको बैठक हाल सिंहदरबारमा बसिरहेको छ । आजको बैठकले अन्य केही महत्वपूर्ण निर्णय समेत गर्नसक्ने स्रोतको दाबी छ ।
Facebook Comments