काठमाडौँ । मध्य भारतमा पश्चिमी वायु प्रणालीको बलियो प्रभाव थपिएपछि दुई दिनदेखि देशभर देखिएको मौसमी प्रभाव बिहीबारदेखि कमजोर बन्दै जाने मौसमविद्हरुले बताएका छन्।
‘पर्सिदेखि क्रमिक रुपमा मौसममा सुधार आउँछ,’ जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले भनिन्, ‘आज र भोलि भने धेरै स्थानमा मौसम यस्तै रहन्छ ।’
शाक्यका अनुसार बंगालको खाडी हुँदै आएको यो प्रणालीको बढी असर सूदूरपश्चिम प्रदेशमा देखिएको छ । सूदूरपश्चिममा दुई दिनअघि नै यो प्रणाली भित्रिएको थियो । प्रणाली भित्रिएसँगै सूदूरपश्चिमका विभिन्न स्थानमा भारी वर्षा भएको छ ।
वर्षाका कारण महाकाली, सेतीलगायतका नदीमा बाढी आएको छ भने नदीले कटानसमेत गरेको छ । सूदूरपश्चिमका हिमाली जिल्लाहरुमा समेत भारी वर्षा भएपछि बाढी र पहिरो आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभरका मानव सञ्चालित र स्वचालित सबै वर्षा मापन केन्द्रमा वर्षा रेकर्ड भएको छ ।
सूदूरपश्चिमका हिमाली जिल्लाहरुमा हिमपातसमेत भएको छ । बाक्लो हिमपातको सम्भावना भएकाले पदयात्रा नगर्न मौसमविद्हरुले बताएका छन् । सूदूरपश्चिमको डडेलधुरामा २४ घण्टामा मनसुन अवधिमाजस्तै वर्षा भएको छ । डडेलधुरामा २२०, दिपायलमा १८७.५, धनगढीमा १४०.२ मिमि वर्षा रेकर्ड भएको छ ।
प्रदेश १ का केही स्थानमा पनि भारी वर्षा भएको छ । सूदूरपश्चिम, कर्णाली, लुम्बिनी र वाग्मती प्रदेशका केही स्थानमा अझै भारी वर्षाको सम्भावना भएकाले सचेत रहन विभागले सूचना जारी गरेको छ । कतिपय नदीमा जल सतह बढेको र अझै बढ्न सक्ने भएकाले सतर्कता अपनाउन ध्यानाकर्षण गराइएको छ ।
विभागले गत साता नै मुलुकबाट मनसुन बाहिरिएको घोषणा गरेको थियो । मौसमविद्हरुले भने अहिलेको मौसमी प्रणालीलाई मनसुनपछिको मौसमी गतिविधि भनेका छन् । धानबाली भित्र्याउने समयमा भारी वर्षा भएपछि देशभरका किसान मर्कामा परेका छन्।