डोटी । सेती नदीमा आएकाे बाढीले पुल छाेएकाे छ । जसकारण नदीमा बाढीको सतह अत्यधिक बढेपछि अछाम र बाजुरा जोड्ने मोटरेवल पुलबाट आउ–जाउ गर्न रोक लगाइएको छ ।
बाढीको सतहले पुल छोएपछि आज बिहानैदेखि सो पुल भएर आउ–जाउ गर्न रोक लगाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले जानकारी दिए ।
पुलमा आवतजावत बन्द गरिएपछि तराईबाट डोटीको सदरमुकाम सिलगढीलगायत छिमेकी जिल्ला अछाम तथा बाजुरा जानका लागि आएका दर्जनौं सवारी साधन पिपल्ला बजारमा रोकिएका छन् ।
डोटीको गोपघाट र दिपायलस्थित समूहगाढमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ । सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ८.४ क्युसेक पुगेको छ । यो ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि हो । केन्द्रका अनुसार ३.५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ ।
विपद् व्यवस्थापनमा जुट्न जिल्लाका तीनवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई ‘हाइअलर्ट’ मा बस्न निर्देशन दिइएको प्रजिअ शंकरबहादुर विष्टले जानकारी दिए ।
सेती नदीमा बाढी आएका कारण नदी आसपासका बस्ती बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासी त्रसित बनेका छन् ।
नदीमा पानीको बहाव बढ्न थालेसँगै इलाका प्रहरी कार्यालय दिपायल र प्रहरीचौकी तिल्तालीको टोलीले नागरिकलाई नदी क्षेत्रमा नजान तथा सचेत रहन माइकिङ गरिरहेको छ ।
वर्षाकै कारण यहाँका विभिन्न ठाउँमा पहिरो गएको छ भने एक दर्जनभन्दा बढी ग्रामीण सडक अवरुद्ध भएका छन् । जिल्लाको जोरायलमा रहेको कर्नासो नदी तथा विपीनगरमा रहेको ठूलीगाडमा समेत पानीको सतह निकै बढेकाले सतर्क रहन आग्रह गरिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए ।