काठमाडौं । पर्यटक भिसामा नेपाल आएर अवैध रुपमा मदिरा भट्टी चलाइरहेका एकजना चिनियाँ नागरिक पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ठमेलको ज्याठामा अवैध रुपमा चलाइएको घरेलु मदिरा भट्टीमा छापा मार्दा चिनियाँ नागरिक पक्राउ परेका हुन्।
तीन चिनियाँ नागरिक पर्यटक भिसामा नेपाल आएर अवैध रुपमा लामो समयदेखि बसेको खुलेको छ। अनुमति नलिइ ‘चिनियाँ कोदोको शुद्ध लोकल रक्सी’ उत्पादन गर्दै आएका चीनको जियाङ्गसु प्रान्तका सिजी जिहुईलाई प्रहरीले पक्राउ गरेको हो। उनले पाँच तले घर भाडामा लिएर घरेलु मदिरा बनाउँदै आएको भेटिएको छ।
‘जिहुईले घरेलु मदिरा कारखाना नै चलाएको हामीले भेटेका छौँ’, अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङले भने, ‘ती चिनियाँ नागरिकले मेसिन राखेर अवैध घरेलु रक्सी उत्पादन गरिरहेका रहेछन्।’
अवैध भट्टीमा छापा मारेर प्रहरीले करिब १० हजार लिटर मदिरा बरामद गरेको छ। बरामद मदिरा थप अनुसन्धान र कारवाहीका लागि आन्तरिक राजस्व कार्यालयलाई बुझाइने महाशाखाले जनाएको छ। प्रहरीका अनुसार चारवटा स्टिलका मेसिन, मदिरा राख्ने ट्याङ्की, मदिरा जोख्ने मेसिन, रातो हरियो रङको ८० लिटरको प्लाष्टिक ड्रममा रहेको अवैध मदिरा उत्पादन हुने कच्चा पदार्थ ड्रम ११३ थान बरामद भएको छ।
चिनियाँ नागरिक जिहुईले त्यही घरमा होटल पनि चलाएको भेटिएको छ। ‘होटल स्वीट ठमेल होटल एण्ड रेष्टुरेन्ट’ काठमाडौं महानगरपालिका-२६ मा दर्ता गरेका खुलेको छ। महाशाखाले त्यो रेष्टुरेन्टमा सिल गरिसकेको छ।