काठमाडौं । चीनमा कोरोनाभाइरस संक्रमण फेरि बढ्न थालेको छ । राजधानी बेइजिङ र अन्य पाँच प्रान्तमा कोरोनाभाइरस संक्रमण फैलिएको बीबीसीले जानकारी दिएको छ ।
नान्जिङ सहरमा फेला परेसँगै अन्य पाँच प्रान्त र राजधानी बेइजिङमासमेत कोरोना संक्रमण फैलिएको बीबीसीले जनाएको छ । सन् २०१९ डिसेम्बरमा वुहानबाट सुरु भएको कोरोनाभाइरसले विश्वभर आतंक मच्याएका बेला फेरि चीनमा पनि प्रकोप फैलिन सुरु भएको हो ।
यही जुलाई २० मा नान्जिङ विमानस्थलमा एक जनामा कोरोनाभाइरस फेला परेपछि करिब दुई जनामा कोरोना संक्रमण भइसकेको विवरण आएको छ । कोरोना संक्रमण फैलिन थालेपछि नान्जिङबाट हुने सबै उडान स्थगित गरिएको चीनको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।
नान्जिङका ९३ लाख बासिन्दा र आगन्तुकहरूको कोरोना परीक्षण गर्ने भएको छ । कोरोनाभाइरसको अतिसङ्क्रामक डेल्टा भेरिअन्टका कारण संक्रमण फैलिएको बीबीसीले जनाएको छ । चङ्दू र बेइजिङसहित १३ वटा सहरमा कोरोना संक्रमण फैलिसकेको पुष्टि भएको छ।
संक्रमण प्रारम्भिक चरणमा भएकाले नियन्त्रण गर्न सकिने विज्ञहरूले बताएका ग्लोबल टाइम्सले उल्लेख गरेको छ । सन् २०१९ मा वुहानबाट फैलिँदाको अवस्था भन्दा अहिले कोरोना संक्रमणले खराब परिस्थिति सृजना गरेको दाबी गरिएको छ । अतिसंक्रामक भेरिअन्टका कारण आममानिस फेरि चिन्तित् बनेका छन् ।