काठमाडौं । नेपालमा कोरोनाको तेस्रो र चौथो लहर आउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। खतराबाट जोगिन अहिलेदेखि नै रोकथाम र नियन्त्रणको तयारी थाल्न तथा सबै सरकारी अस्पतालहरूलाई कम्तिमा २० प्रतिशत शय्या बालबालिकाका लागि छुट्याउन मन्त्रालयले निर्देशन दिएको छ।
शुक्रबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै संक्रमणको दोस्रो लहरजस्तै तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबाट बालबालिका बढी संक्रमित हुनसक्ने भन्दै सबै अस्पताललाई शय्या छुट्याउन भनेको हो।
मन्त्रालयले कोरोनाको पहिलो लहर नियन्त्रणउन्मुख हुँदै गएको अवस्थामा पुनः दोस्रो लहरले स्वास्थ्य क्षेत्रलाई अस्तव्यस्त बनाएको पनि उल्लेख गरेको छ। दोस्रो लहर पनि नियन्त्रणमै रहेको दाबी मन्त्रालयको छ। तर अब तेस्रो र चौथो लहर आउन सक्ने भएकोले पूर्वतयारी गर्नुपर्ने मन्त्रालयले बताएको हो।
‘पहिलो र दोस्रो लहरले अत्याधिक मात्रामा बृद्धबृद्धा र युवाहरू संक्रमित भएको हुँदा व्यवस्थापन तयारी बृद्धबृद्धा र युवा लक्षित मात्र हुन पुगेको छ। दोस्रो लहर जस्तै तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी संक्रमित हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै आफ्नो स्वीकृत शय्याको कम्तिमा २० प्रतिशत शैया कोभिड १९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्नु हुन अनुरोध छ,’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले बेलैमा अक्सिजनको व्यवस्थापनसमेत गर्न सबै अस्पतालहरूलाई अपिल गरेको छ। तेस्रो र चौथो लहरले पुर्याउने क्षतिलाई कम गर्न अहिले देखि नै अक्सिजनको जोहो गर्न मन्त्रालयले आग्रह गरेको हो ।