युएईबाट साढे ५ केजी सुन ल्याउने योजनाकार चिनियाँ नागरिक

काठमाडौँ । युएईको शारजहाबाट स्पिकरमा लुकाएर ल्याएको सुनसहित मङ्गलवार साँझ ३ जना विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृत किरण विष्ट र सशस्त्र प्रहरीका इन्स्पेक्टर नेतृत्वको टोलीले ५ केजी ७ सय ग्राम सुन बरामद गरेका हुन् ।

सुन ओसारपसारमा संलग्न चिनियाँ नागरिक चियान चाङ, म्यानमार घर भएका साट नेइङ टन र ई नेगोनी फो लाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयले थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।

सुन ल्याउने मुख्य योजनाकार चिनियाँ चाङ रहेको भन्सारले गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । सेप्टेम्बर २६ (असोज १०) मा काठमाडौँ आएर त्यसैदिन फर्केका चिनियाँ चाङ प्रहरीको पनि निगरानीमा थिए ।

उनले म्यानमारका दुई जनालाई प्रतिव्यक्ति ७ सय दिराम (२५ हजार भन्दा बढी नेपाली रुपैयाँ) दिने सर्तमा सुन लुकाएको स्पिकर सहितको दुई वटा लगेर बोकाएर काठमाडौँमा ल्याएको अनुसन्धानमा संलग्न भन्सार कार्यालयका अधिकृतहरू बताउँछन् ।

शारजहामा उनीहरूलाई पाकिस्तानी नागरिकले चिनजान गराइदिएका हुन् । म्यानमारका दुई जनाले अनुसन्धान अधिकृतहरूसँग भनेका छन्, ‘७ सय दिराम आउँछ भनेपछि हामी एक–एकवटा लगेज काठमाडौँसम्म ल्याउन सहमत भएका थियौँ, त्यहाँ सुन लुकाएको थाहा थिएन ।’

चिनियाँले दुवै लगेजमा म्यानमारकी ई नेगोनी फो को नाम लेखेका थिए । उनले दुवै लगेज आफ्नो भनेर स्विकारेका छैनन्। दुई वटा लगेजमा ६ वटाको दरले स्पिकर प्याक गरिएको थियो ।

एक्स-रे मेशिनले स्पिकरमा चुम्बक रहेको सङ्केत गरेपछि फुटाएर हेर्दा १२ वटामा ४८ वटा रिङ आकारको सुन फिट गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतले जानकारी दिए । उनले भने,‘शङ्का लागेर फुटाउँदा सुन भेटिएको हो ।’

म्यानमारका दुई जनालाई भरियाको रूपमा प्रयोग गरेर चिनियाँले सुन ल्याएको भन्सार कार्यालयको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।