एजेन्सी । कराचीको एक कपडा कारखानामा कार्यरत दुई जना चिनियाँ नागरिकमाथि सुरक्षागार्डले गोली चलाएको घटनाले चीन र पाकिस्तानबीचको सम्बन्धमा गम्भीर असर पारेको छ।
घटना नोभेम्बर ५ मा भएको हो, जसमा एक जना चिनियाँ नागरिक गम्भीर घाइते भएका छन्। घटनापछि पाकिस्तानले पीडितको अवस्थाबारे थप जानकारी नदिएकोले चीनले कडा असन्तोष जनाएको छ।
चिनियाँ नागरिकहरूमाथि बारम्बार भइरहेका हिंसात्मक आक्रमणका कारण पाकिस्तानमा चीनले सुरक्षामा कमी भएको भन्दै चिन्ता व्यक्त गर्दै आएको छ। विशेषतः चीन–पाकिस्तान आर्थिक कोरिडोर (CPEC) परियोजनामा संलग्न चिनियाँ कामदार र इन्जिनियरहरूमाथि बारम्बार आक्रमण भइरहेको छ। यसै सन्दर्भमा, पाकिस्तानमा चिनियाँ नागरिकको सुरक्षाका लागि चीनले ‘संयुक्त सुरक्षा संयन्त्र’ स्थापना गर्न प्रस्ताव गरेको छ।
यसै वर्ष मार्च महिनामा भएको कार बम विस्फोट र अक्टोबरमा भएको अर्को आक्रमणमा पनि चिनियाँ नागरिकहरू मारिएका थिए। यी आक्रमणहरूले चीन–पाकिस्तान सम्बन्धमा असहजता उत्पन्न गरेको छ। पाकिस्तानले यस घटनामा संलग्नलाई कडा कारबाही गर्ने प्रतिवद्धता जनाए पनि चीनले आफ्ना नागरिकहरूको सुरक्षा सुनिश्चित नभएकोमा गम्भीर असन्तोष जनाएको छ।
प्रधानमन्त्री शेहबाज शरीफले घटनाप्रति खेद प्रकट गर्दै चिनियाँ राजदूतावासमा भेटघाट गरेका छन्। तर, पाकिस्तानमा चिनियाँ सुरक्षा कम्पनीहरूलाई अनुमति दिनुपर्ने चीनको दबाबले पाकिस्तानको आन्तरिक सुरक्षामा थप चुनौती थपिएको छ।