ताइवानकाे वायु क्षेत्रमा चिनियाँ लडाकु विमानकाे घुसपैठ

एजेन्सी । चीनले बुधबार बिहान २५ वटा लडाकु विमान र तीनवटा युद्धपोत ताइवानकाे टापु राष्ट्रतर्फ पठाएको खुलासा भएकाे छ ।

ताइवानको विदेश मन्त्रालयले बुधबार चीनले बुधबार बिहान २५ वटा लडाकु विमान र तीनवटा युद्धपोत ताइवानकाे टापु राष्ट्रतर्फ पठाएको खुलासा गरेकाे हाे ।

मन्त्रालयले भन्याे,’ २५ लडाकु विमानमध्ये १९ विमानहरू ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेका छन्, जबकि जहाजहरूको आवतजावत ताइवान स्ट्रेटमा जारी छ।

ताइवानले लडाकु विमान, जहाज र तटीय क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई ‘निगरानी र प्रतिक्रिया’ गर्न सक्रिय गरेको दाबी गरेको छ। पछिल्लाे समय ताइवानका सबैभन्दा ठूलो समर्थक अमेरिका र चीनबीच ताइवानलाई लिएर तनाव जारी छ ।

चीनले नियमित रुपमा यस्ता गतिविधिहरुलाई निरन्तरता दिइरहेकाे विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । जसलाई ‘ग्रे जोन’ रणनीति भनिन्छ। यसको उद्देश्य ताइवानका सैनिकहरूलाई डराउनु र अनावश्यक रूपमा गैरकानुनी गतिवधि प्रयोग गर्नु र सार्वजनिक रूपमा ताइवानको मनोबलमा धक्का दिनु रहेकाे छ ।

ताइवानले आफ्नो एफ–१६ लडाकु विमानहरूको फ्लीट अपग्रेड गरेको छ साथै अमेरिकाबाट ६६ थप विमानहरू अर्डर गरेको छ । अन्य हतियारहरू पनि ताइवानले खरिद गरेको छ । त्यस्तै ताइवानले सबै पुरुषहरूको लागि अनिवार्य सैन्य सेवाको अवधि चार महिनाबाट एक वर्षसम्म बढाएको छ। ।

चीनले ताइवान आफ्नो हिस्सा भएको दाबी गर्दै आइरहेकाे छ । साथै चीनले विदेशी अधिकारीहरूको ताइवान भ्रमणको विरोध गरिरहेकाे छ। चीन यो टापुलाई फेरि आफ्नो नियन्त्रणमा लिन चाहन्छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवान र चीनको पुनः एकीकरणको कडा वकालत गर्दै आइरहेका छन्। तर ताइवानले आफूलाई सार्वभौमसत्ता सम्पन्न राष्ट्र मान्छ। यसको आफ्नै संविधान छ। यसबाहेक, ताइवानमा जनताद्वारा निर्वाचित सरकार छ।

यद्यपि, लडाकु विमानहरूले ताइवान स्ट्रेटको संवेदनशील केन्द्र रेखा पार गरेनन्। जसले पहिले दुई पक्षबीच अनौपचारिक अवरोधको रूपमा काम गर्‍यो, तर गत अगस्टमा ताइवान नजिकै युद्ध अभ्यास गरेदेखि, चीनको वायु सेनाले लगभग दैनिक रूपमा उडान गरिरहेको छ।

अहिले कुनै गोलाबारी भएको छैन। ताइवानको प्रजातान्त्रिक रूपमा निर्वाचित सरकारले बारम्बार चीनसँग वार्ताको प्रस्ताव राख्दै आएकाे छ ।