टर्कीकाे भूकम्पलाई लिएर चीनमा राजनीतीकरण

एजेन्सी । टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण मानवीय सहायताका लागि विश्वभरका राष्ट्रहरू अगाडि आएपछि एक चिनियाँ नागरिकले सामाजिक सञ्जालमा असंवेदनशील टिप्पणी गरेका छन्।

फर्स्टपोस्टको रिपोर्टका अनुसार चिनियाँ नेटिजनहरूको एक महत्वपूर्ण वर्गले टर्कीको दु:खद भूकम्पलाई राजनीतिक दृष्टिकाेणबाट हेरेर टिप्पणी गरिरहेका छन्।

यहाँ पश्चिमी चीनको सिन्जियाङ प्रान्तका टर्की भाषा बोल्ने उइगरहरूलाई टर्कीले दिएको समर्थन उनीहरूको क्रोधको मुख्य कारण देखिन्छ।

चीनले टर्कीमा पठाएको उद्धार टोलीले भूकम्प पीडितहरूलाई उद्धार गर्नुअघि सिनजियाङ र ताइवानबारे उनीहरूको राजनीतिक धारणाबारे सोध्नु पर्ने एक चिनियाँ नागरिकले सुझाव दिएपछि उइगरहरू आक्राेशित भएका छन् ।

ती चिनियाँ नागरिकले सामाजिक सञ्जालमार्फत उक्त सुझाव दिएका हुन् । चिनियाँ सरकारले पठाएको पहिलो उद्धार टोली बुधबार बिहानै टर्कीको अडाना विमानस्थलमा अवतरण गरेको थियो।