राष्ट्रिय कविता महोत्सवः नुवाकोटकी भूगोल प्रथम

राष्ट्रिय कविता महोत्सव २०७७ मा नुवाकोटकी भैरवी भूगोल प्रथम भएका छन् । उनको कविता ‘नेपालको गीत’ ले प्रथम स्थान हासिल गर्न सफल भएको हो । यस्तै लमजुङका प्रज्वल अधिकारीको कविता ‘सङ्कल्प’ ले द्वितीय स्थान हासिल गरेको छ ।

सोलुखुम्वुका गणेशप्रसाद खतिवडाको ‘आमाको आदेश’, दोलखाकी देवकी अभिलाषीको ‘आमा एक विश्वविद्यालय’ र तेह्रथुमकी रेजिना आपगाईँको ‘समृद्ध नेपालको सपना’ कविता तृतीय भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु ४० हजार र तृतीयलाई रु ३० हजार प्रदान गरिने छ । प्रतियोगितामा सहभागी ५०२ कवितामध्ये उत्कृष्ट ३० कवितालाई प्रतिस्पर्धाका लागि छनोट गरिएको प्रतिष्ठानका प्राज्ञसभा सदस्य एवं सञ्चार संयोजक शशी लुमुम्बूले बताउनुभयो । कविता प्रतियोगिताका निर्णायकमा डा हेमनाथ पौडेल, स्नेह सायमी र प्रभा भट्टराई रहेका थिए ।

महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गर्दै कविता महोत्सवले साहित्यप्रतिको आकर्षण र महत्वलाई उजागर गर्ने बताए । उनले यस खालका कार्यक्रमले ओझेलमा परेका प्रतिभालाई प्रस्फूटन गर्न सहयोग पु-याउने धारणा राखे कला, साहित्य र संस्कृतिको विकासले अन्य क्षेत्रको विकासका लागि पनि सहयोग पु-याउने मन्त्री भट्टराईले उल्लेख गरे।

सो अवसरमा मन्त्री भट्टराईले राष्ट्रिय कविता महोत्सवमा २०४६ देखि २०७६ सम्मका पुरस्कृत कविताको सङ्ग्रहको विमोचन तथा विभिन्न कर्मचारीलाई प्रज्ञा दीर्घ सेवा र प्रज्ञासेवा पदक प्रदान गरे । प्रज्ञा ९प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा जगमान गुरुङ, सदस्यसचिव जगतप्रसाद उपाध्यायले मन्तव्य राखेका थिए । रासस

नेपाल यो स्वर्ग हो( कविता )

नेपाली जगका सु संस्कृति अझै चम्किरहेछन् यहाँ
जन्मे बुद्ध यहीँ बढीकन अहो सत्मार्गको खोजमा
के बोल्छौ अब हे महान जन हो होच्याउँदै देश यो
पल्टाऊ इतिहास बुझ्न सहजै नेपाल यो स्वर्ग हो
!!१!!

आमाकै मनमा म देख्दछु सँधै अगाध छन् प्यार ती
जन्मन्छन् सय अप्सराहरु यहीँ छक्याउने ईन्द्र नी
खानीनै छ यहाँ सबै जगतका शान्ती र सौन्दर्यको
सेताम्मे हिमशैलको छ धरती नेपाल यो स्वर्ग हो
!!२!!

गुम्बा मन्दिर चर्च छन् सब यहाँ सुधर्मका देवल
विश्वैको मन खिच्न सक्दछ धनी नेपालले केवल
रोपौँ फूल विकासका लहरमा यो देश चम्काउँदै
फाल्गुनन्द र बुद्धका जनकका सत्कर्म फैलाउँदै
!!३!!

ती पासाङ बलभद्र अंशु अरनी राम र संख्वाधर
जुट्ने हुन् सब ती बनाउन भनी नेपाल यो सुन्दर
लुट्ने ती सब नै यहाँ गरिब हुन् अस्तित्व नेपालको
तिम्रै त्यो ममता अमूल्य छ मुमा नेपाल यो स्वर्ग हो
!!४!!

कोदो फापर धान जौ सब यहाँ खानै त लौ टन्न छ
यो राज्यै बलियो भयो यदि भने नेपाल सम्पन्न छ
सिक्नेछन् शुभ कर्म बालक सबै नभैदिए युद्ध त्यो
जागौँ गर्न विकास लौ सब जना नेपाल यो स्वर्ग हो
!!५!!

बग्छिन् ती सरिता पबित्र तटमा डुल्दै गरी सल्बल
नाच्दैछन् मन यो नपुगि कन त्यो तान्सेनमा छम्छम
स्वर्गैमा पनि लौ सुशान्त सबको यस्तो त कुन् लोक थ्यो ?
ईन्द्रैले पनि के वयान गरथे नेपाल यो स्वर्ग हो
!!६!!
अर्जुन दुलाल

कोरोना कहर(कविता)

आधा लाखको हाराहारी मान्छे मारिसक्यो ।
कोरोनाले विश्वभरि सङ्कट पारिसक्यो ।।
नियन्त्रणका प्रयासहरू नभएका हैनन् ।
अझै पनि मानिसहरू ढुक्क भने छैनन् ।।

लकडाउन छ थुप्रै देशमा बढिरह्यो त्रास ।
गरिब दु: खी मानिसले कसको गर्नू आश ?
थुप्रै देशलाई ऋणको भारी बोकाएको किन ?
हजारौं जन खाइसक्दा नि भोकाएको किन ??

भ्याक्सिन बनाई यसलाई तह लगाउन पाए ।
रमाउथ्यो मन छिट्टै यसलाई भगाउन पाए ।।
कोरोनाको कहरबाट मुक्ति देऊ प्रभू ।
त्यसलाई नष्ट गर्न सही जुक्ति देऊ प्रभू ।।
त्रिलोचन सापकोटा ‘आशिष’

लकडाउनमा भोका(कविता)

लकडाउनमा फैलिदैछ भोक र भोकमरी,
सरकारले बाँडन थालेको छ राहत सामग्री,
मन फुरुंग बनाउँदै गएँ लिन राहत सामग्री,
घन्टौ बसें, पाइएन नागरिकता बिना राहत सामग्री ।१।

विश्वव्यापी बनेको कोरोना भाइरस,
मानवताकै नाताले सहयोग पाउँने थियो आश,
तर, न मतदाता न नागरिकता अनि कसले पो गर्छ विश्वास,
रित्तो हात फर्के हुँदै निराश ।२।

पहिले पार्टीको सदस्यता खोजे,
पछि कार्यकर्ताको सिफारिस पनि खोजे,
अझ हुँदै नभएको कुराहरु पनि मसंग खोजे,
म भने गरिब, असहाय र निरीह हुँ भनेर सम्झाउन खोजे ।३।

तीन तहको सरकार छ,
तर पनि ज्यालामजदुरी गर्ने भोकभोकै छ,
ठाउँ–ठाउँमा राहत खुबै बाँडिएको सुनिन्छ,
काम गरेर खानेको अझैपनि चुलो नबलेको सुनिन्छ ।४।

सुनिन्छ पल्लोघरेकोमा थन्किए पोकाका पोका,
सरकारले लागू गर्यो राहतमा एकद्वारे ढोका,
जनप्रतिनिधि पहिले पुग्छन् आफ्ना मतदाताको ढोका,
लकडाउनमा पेट बाँधिएकाहरु बाध्य छन् बस्न भोका ।५।
दिनेश यादव

उबेलाको बम(गजल)

उबेलाको बम अँझै पड्किदैछन
जङ्गली चरित्रहरू पुरै झल्किदैछन

देशको हालत बिजोग छ हरे,
महामारी आगो अँझै सल्किदैछन

लोकतन्त्र स्थिरता घोषणापत्रमा मात्र थिए,
अस्तिरता त रगतमै पल्किदैछन

हिजो पो आफ्नो थियो आज पराई भैगो,
बिगोगको घाउ मुटुमै चर्किदैछन ।
सुरेन्द्र पोखरेल

गजल

मुखामुख गरिरहेछन् सरकारका मान्छेहरु
खै के गर्दै होलान् बालुवाटारका मान्छेहरु

उता छिमेकी राष्ट्रले फेरि लिपुलेक लुटेछ
यता थाहा पाउँदैनन् सिंहदरबारका मान्छेहरु

उर्लिदो भेल आएर घर बगाउन थालेपछि
डराउँदै बस्छन् नदी किनारका मान्छेहरु

काखबाट बच्चा हराउँदा थाहै पाउदैनन्
धेरै ब्यस्त रछन् शहर बजारका मान्छेहरु

आफ्नो स्वार्थको लागि देश बेचिसकेछन्
खुब स्वार्थी रहेछन् यो संसारका मान्छेहरु

बबिता भुजेल
खोटाङ, हाल-बिराटनगर