भारतले नेपालमा सुरु गर्‍यो चामल तथा आपूर्ति श्रृंखला व्यवस्थापन परियोजना, तीन चरणमा कार्यान्वयन हुने

काठमाडौं । भारतले नेपालमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल तथा आपूर्ति श्रृंखला व्यवस्थापन परियोजनाको शुभारम्भ गरेको छ। नेपालमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल तथा आपूर्ति श्रृंखला व्यवस्थापनलाई सुदृढ बनाउन संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमको सहयोगमा भारतले नयाँ सहयोगी पहल सुरु गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।

भारतको विदेश मन्त्रालयले शुक्रबार नयाँ दिल्लीमा सुरु गरेको यो पहल भारत–संयुक्त राष्ट्रसंघ वैश्विक क्षमता निर्माण पहलको एक हिस्सा रहेको दूतावासको विज्ञप्तिमा उल्लेख छ।

‘नेपालमा यो परियोजनाले भारतको सफल सार्वजनिक वितरण प्रणाली (पीडीएस) सँग ज्ञान आदानप्रदानलाई सहज बनाएर नेपालको स्तरोन्नति गरिएको चामल आपूर्ति श्रृंखलामा विशेष गरी खरिद प्रक्रिया, तथ्याङ्क सङ्कलन र दक्ष कार्यबलमा रहेका समस्यालाई सम्बोधन गर्नेछ। यस परियोजनाले नेपालका सरोकारवालाहरुलाई कुशल खाद्य आपूर्ति श्रृंखला व्यवस्थापनको लागि डिजिटल प्रविधिहरुको उपयोगमा भारतको अनुभवबाट सिक्ने अवसर प्रदान गर्दछ’ विज्ञप्तिमा भनिएको छ।

यो परियोजना १२ महिनाको अवधिमा तीन चरणमा कार्यान्वयन गरिने भारतीय दूतावासले जनाएको छ। ‘पहिलो चरण आवश्यकता मूल्याङ्कन र सरोकारवालाहरूको संलग्नतामा केन्द्रित हुनेछ। दोस्रो चरणमा प्रयोगात्मक प्रदर्शन र विशेषज्ञहरूद्वारा संक्षेपीकरणसहित नेपाली अधिकारीहरूका लागि भारतको अध्ययन भ्रमण समावेश हुनेछ। तेस्रो तथा अन्तिम चरण कार्य योजनाको विकासमा केन्द्रित हुनेछ।’ विज्ञप्तिमा भनिएको छ, ‘यो परियोजनाको प्रशिक्षण खण्ड भारत सरकारको भारतीय प्राविधिक तथा आर्थिक सहयोग (आइटेक) कार्यक्रम मार्फत कार्यान्वयन गरिनेछ। सन् २००१ यता ३००० भन्दा बढी नेपाली अधिकारीहरूले यसअघि आइटेक कार्यक्रम अन्तर्गत भारतमा तालिम प्राप्त गरिसकेका छन्।’

परियोजनाले भारत र नेपालबीचको बलियो र जीवन्त विकास साझेदारीलाई प्रतिबिम्बित गर्ने भारतीय दूतावासको दाबी छ। विज्ञप्तिमार्फत दूतावासले भनेको छ, ‘यो परियोजनाले भारत र नेपाल बीचको बलियो र जीवन्त विकास साझेदारीलाई प्रतिबिम्बित गर्दछ। यसले दक्षिण-दक्षिण सहकार्य मार्फत नवप्रवर्तनहरू साझा गर्ने र उत्थानशील खाद्य प्रणाली निर्माण गर्ने दुवै देशहरूको साझा प्रतिबद्धतालाई सुदृढ बनाउँदछ।’

Facebook Comments