चीनले हमला गरे आफ्नो प्रतिरक्षा गर्न ताइवानले थालेको सैन्य अभ्यासमा के हुन्छ ?

एजेन्सी । ताइवानले चीनको सम्भावित आक्रमणविरुद्ध आफ्नो प्रतिरक्षा क्षमता बढाइरहँदा बुधवारदेखि सो स्वशासित टापुमा वार्षिक सैन्य अभ्यास ‘खान ग्वाअङ’ सुरु भएको छ।

हालसम्मकै सबैभन्दा ठूलो र लामो भनिएको यस वर्षको ‘खान ग्वाअङ’ झन्डै १० दिन चल्ने छ। यो अभ्यास गत वर्षको भन्दा दुईगुना लामो हुने छ।

यसको उद्देश्य सर्वसाधारण ताइवानीहरूलाई सम्भावित आक्रमणका लागि तयार पार्नु रहेको भए पनि यो टापुको प्रतिरक्षा क्षमता सार्वजनिक रूपमा प्रदर्शन गर्नु र बेइजिङलाई स्पष्ट सङ्केत पठाउनु समेत हो।

चीनले स्वशासित ताइवानलाई आफ्नो क्षेत्रको रूपमा दाबी गर्छ र कुनै दिन यससँग “पुनरेकीकरण” गर्ने वाचा गर्दै आएको छ।

बेइजिङले त्यस क्रममा बल प्रयोगको सम्भावनालाई नकारेको छैन। त्यसले ताइवानको प्रमुख सहयोगी संयुक्त राज्य अमेरिका पनि द्वन्द्वमा तान्ने आशङ्का उत्पन्न भएको छ।

‘खान ग्वाअङ’ भनेको के हो?
यो अभ्यास सन् १९८४ यता प्रत्येक वर्ष आयोजना हुँदै आएको छ।

‘खान ग्वाअङ’मा हजारौँ सैनिकहरू ताइवानको नवीनतम सैन्य हार्डवेअर प्रदर्शन गर्दै स्थल, जल र आकाशमा हुने सैन्य अभ्यासमा भाग लिन्छन्।

चिनियाँ भाषामा यसको पूरा नामले प्राविधिक रूपमा चिनियाँ मुख्य भूमिको पुनः प्राप्तिलाई जनाउँछ जुन ताइवानमा गठित पहिलो ‘रिपब्लिक अफ चाइना’ सरकारको एउटा उद्देश्य थियो।

यसको व्यावहारिक उद्देश्य ताइवानका प्रतिरक्षात्मक क्षमताहरूको अभ्यास गर्नु हो।

हालैका वर्षहरूमा चीनबाट सम्भावित आक्रमणको चिन्ता बढ्दै जाँदा ‘खान ग्वाअङ’ उल्लेख्य रूपमा परिस्कृत र परिवर्तित हुँदै आएको छ।

सैन्य अभ्यासमा के हुन्छ?
अधिकारीहरूले यस वर्ष जुलाई ९ देखि १८ तारिखसम्म आयोजना हुने सो अभ्यासका लागि ‘लाइभ-फायर ड्रिल’को तयारीस्वरूप एप्रिलमा शृङ्खलावृद्ध ‘कम्प्युटराइज्ड टेबल-टप’ सैन्य अभ्यास गरेका थिए।

सैन्य अभ्यासका बेला रकेट लन्चर, ड्रोन र स्थानीय रूपमा विकसित क्षेप्यास्त्रको वास्तविक प्रयोग हुन्छ।

यसमा अमेरिकाले आपूर्ति गरेको तथा निकै प्रचार गरिएको र हालसालै प्राप्त मोबाइल रकेट प्रक्षेपण प्रणाली ‘हाइमर्स’ पनि पर्छ।

वाशिङ्टनले उक्त प्रणाली युक्रेनलाई पनि दिएको छ। त्यसले ताइवानी सेनाले हाल प्रयोग गरिरहेको क्षेप्यास्त्र प्रक्षेपण प्रणालीभन्दा निकै टाढासम्म प्रहार गर्न सक्छ।

ती अभ्यासहरूमा झन्डै २२,००० जगेडा सैनिकहरू सहभागी हुँदै छन्। यो सङ्ख्या गत वर्षको तुलनामा झन्डै ५० प्रतिशत बढी हो।

गत वर्षझैँ यी अभ्यासमा अचानक हमला हुँदा सेनाले यथार्थपरक रूपमा जनाउने प्रतिक्रिया समाविष्ट हुने छ। सैन्य विश्लेषकहरूले त्यसको प्रशंसा गरेका छन् र त्यसको अभ्यासको लामो समयदेखि प्रतीक्षा गरिएको थियो।

यस्तो परिवर्तन वर्षौँदेखि त्यस्ता अभ्यासको आलोचना भएका पृष्ठभूमिमा आएको देखिन्छ। यसअघिका त्यस्ता प्रदर्शन वास्तविक सैन्य अभ्यासभन्दा जनसम्पर्कको अभ्यासजस्तो देखिने भन्दै आलोचना हुने गर्थ्यो।

यस वर्षको अभ्यासको एक भाग ताइवानविरुद्ध चीनको बढ्दो ‘ग्रेजोन’ अर्थात् ‘अप्रत्यक्ष’ युद्ध रणनीतिको सामना गर्नमा केन्द्रित हुने छ। बेइजिङका लडाकु विमान र पानीजहाजहरू बारम्बार हवाई तथा जलक्षेत्रमा घुसपैठ गरेको देखिएको थियो।

हालैका वर्षमा ‘खान ग्वाअङ’ले नागरिक प्रतिरक्षाको विषय समेटेको छ। त्यसमा ताइवानका नागरिकहरू कैयौँ ठाउँ खाली गर्ने र हवाई आक्रमण हुँदा के गर्ने भनेर पूर्वाभ्यासमा सहभागी हुने छन्।

यस वर्ष “अर्बन रिजिल्यन्स” अर्थात् सहरी भेगमा जोखिम वहन गर्ने अभ्यास हुने छ। एक पटकमा झन्डै ३० मिनेटसम्म चल्ने त्यस अभ्यासमा हुन लागेका हमलाबारे मोबाइल फोनमा अलर्ट पठाइनुका साथै सहरहरूमा हवाई आक्रमणको साइरन बज्ने छ।

त्यस बेला सडक यातायात बन्द हुने छ भने यातायात केन्द्र, पसल, होटल र बजारहरू पनि बन्द हुने ठानिएको छ।

रिपोर्टहरूका अनुसार अधिकारीहरूले ताइवानी समाजको मिथ्या सूचनाको प्रतिरोध गर्ने क्षमता र चिनियाँ कम्युनिस्ट पार्टीको यूनिफाइड फ्रन्टका कामको पनि परीक्षण गर्ने छन्।

यद्यपि त्यसको प्रारूप अझै स्पष्ट पारिएको छैन।

‘खान ग्वाअङ’मा ताइवानको जोड किन?
चीनले ताइवानलाई लक्ष्य गरी ‘अप्रत्यक्ष युद्ध’ र मिथ्या सूचनाको अभियान बढाएको छ।

केही पर्यवेक्षकहरूले त्यसलाई ताइवानको प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउने रणनीति मानेका छन्।

चिनियाँ राष्ट्रपति सी जिन्पिङले चिनियाँ सेनालाई ताइवानमा अतिक्रमण गर्न सन् २०२७ को समयसीमा तोकेको भन्दै संयुक्त राज्य अमेरिकाले ताइवानका लागि चीन एउटा “ठूलो खतरा” रहेको चेतावनी दिएको छ।

बेइजिङले त्यस्तो समयसीमाबारे आधिकारिक पुष्टि गरेको छैन। तर अमेरिका चाहिँ चीनले एशियामा “शक्ति सन्तुलन परिवर्तन गर्न सैन्य बल प्रयोग गर्ने सम्भावनाका लागि तयारी गरिरहेको” ठान्छ।

गत वर्ष डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टीका नेता विलिअम लाई राष्ट्रपति बनेपछि ताइवान र चीनबीचको सम्बन्धमा अझ तनाव बढेको छ।

बेइजिङले उनलाई “पृथक्तावादी” मान्ने गरेको छ। उनले चीनविरुद्ध आफ्ना पूर्ववर्तीले भन्दा कडा अडान र नीति लिएका छन्।

यो वर्षको ‘खान ग्वाअङ’ किन महत्त्वपूर्ण?
‘खान ग्वाअङ’मा गरिएका परिवर्तनहरू वास्तवमा ताइवानी सेना र प्रतिरक्षामा सुधार गर्ने बृहत्तर प्रयासको अङ्ग हो। तर त्यस्तो प्रयासको देश तथा विदेश सबैतिरबाट आलोचना भने हुने गरेको छ।

ताइवानमा जनताले सेनाप्रति गर्ने विश्वासको दर तलमाथि हुने गरेको छ। गत वर्ष गरिएको एउटा मतसर्वेक्षणले केवल ४७.५ प्रतिशत ताइवानीहरू मात्र आफ्नो राष्ट्रको प्रतिरक्षात्मक क्षमताप्रति विश्वस्त रहेको देखाएको थियो।

डोनल्ड ट्रम्प अमेरिकाका राष्ट्रपति हुँदा दुवै कार्यकालमा वाशिङ्टनले ताइवानलाई प्रतिरक्षाका लागि बढी बजेट खर्च गर्न र सेनालाई आधुनिक बनाउन दबाव दिँदै छ।

यदि चीनले आक्रमण गर्‍यो भने ट्रम्पको नेतृत्वमा रहेको अमेरिकाले ताइवानका पक्षमा हस्तक्षेप नगर्ने आशङ्का बढेका बेला ताइवानले आफ्नो प्रतिरक्षालाई अझ सुदृढ पार्न खोजेको छ।

ताइवानलाई आफ्नो प्रतिरक्षा गर्न अमेरिकाले सघाउनुपर्ने कानुनी बाध्यता छ। तर ट्रम्प त्यस विषयमा दोधारमा उभिएका छन्।

बलपूर्वक ताइवानलाई आफ्नो अधीनमा लिन उनले चीनलाई रोक्लान् कि नरोक्लान् भन्ने विषयमा उनले केही समयअघि टिप्पणी गर्न अस्वीकार गरेका थिए।

ताइवानले सैन्य सेवालाई अनिवार्य बनाएको छ। उसले आफ्नै पनडुब्बी र क्षेप्यास्त्रहरू पनि निर्माण गरेको छ। त्यसबाहेक ताइवानले सहरी र नागरिक प्रतिरक्षा क्षमता पनि बढाएको छ।

ताइवानले ड्रोनसहित विभिन्न ससाना र एक ठाउँबाट अर्को ठाउँ सार्न मिल्ने अस्त्र प्रणालीहरूमा पनि लगानी गरेको छ।

उसले असमान युद्धका लागि आफ्ना सैनिकहरूलाई विशेष तालिम दिई उक्त टापुमा अरूलाई सजिलै कब्जा गर्न नदिने रणनीति अवलम्बन गरेको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.