चीनमा कम्युनिस्ट शासनको कडाइले जन्मायो बेहुली तस्करीको भयावह समस्या

चीनको कम्युनिस्ट पार्टीको कठोर नियन्त्रणले जनताको निजी जीवनसमेत नियन्त्रणमा राख्दै आएको छ। बालबालिकालाई सातामा तीन घण्टामात्र गेम खेल्न दिने नियमदेखि लिएर मनोरञ्जन कार्यक्रमहरूमा ‘महिला झैँ देखिने’ पुरुष सेलिब्रिटीहरूमा प्रतिबन्ध लगाउनेसम्मका कदमहरू जनजीवनमा प्रत्यक्ष प्रभाव पारिरहेका छन्। यिनै नियन्त्रणहरूमध्ये एक—सन् १९७९ देखि २०१५ सम्म लागू गरिएको ‘एक सन्तान नीति’—ले विनाश निम्त्याएको छ।

एक सन्तान नीतिका कारण चीनमा जनसंख्या घट्दै गएको छ। त्यसमाथि छोरा चाहिने सामाजिक मानसिकताले महिलाको संख्या घटाएको छ। यसले गर्दा हाल चीनमा बेहुलीहरूको अभाव भएको छ। यसकै फाइदा उठाउँदै मानव तस्करहरूले दक्षिण एशियाका गरिब मुलुकहरूबाट केटीहरू चोरेर वा फसाएर चीन पुर्याउने गरेका छन्। धेरै केटीहरूलाई जबरजस्ती बिहे गराइन्छ र बच्चा जन्माउन बाध्य बनाइन्छ। चिनियाँ अधिकारीहरू यस्ता गतिविधिहरूप्रति बेवास्ता गरिरहेका छन्।

सन् २०२४ मा पनि चीनको जनसंख्या लगातार तेस्रो वर्ष घट्यो। राष्ट्रिय तथ्यांक विभागअनुसार २०२३ को तुलनामा चीनको जनसंख्या १३ लाख ९० हजारले घटेर १.४०८ अर्बमा झर्‍यो। बाल्यकालदेखि नै छोराको प्राथमिकताले गर्दा आज चीनमा ३० लाख बढी पुरुष छन्। २०२४ मा पुरुषको संख्या ७१९ मिलियन र महिलाको संख्या ६८९ मिलियन थियो।

बेहुली अभावका कारण म्यानमार, भियतनाम, कम्बोडिया, नेपाल र पाकिस्तानबाट महिलाहरू तस्करीमा परिरहेका छन्। युद्धग्रस्त म्यानमारको चिनियाँ सीमा नजिकका शिविरमा बस्ने महिलाहरूलाई रोजगारीको झुटो प्रलोभन देखाएर चीन पुर्‍याइन्छ र त्यहाँ बेचिन्छ। त्यस्तै गरी नेपालबाट पनि चिनियाँ पुरुषसँग बिहे गराउने भन्दै महिला चीन लैजाने र त्यहाँ ‘बेहुली खरिद’ मा बेच्ने क्रम बढेको छ।

सन् २०१७ देखि २०१९ सम्म २१ हजारभन्दा बढी म्यानमारकी महिला चीनमा बेचिइन्, तीमध्ये १८ हजारलाई जबरजस्ती आमा बनाइएको थियो। भियतनामबाट ३ हजारभन्दा बढी महिला र बालबालिका त्यही अवधिमा तस्करीमा परे। पाकिस्तानका ६२९ महिला चिनियाँ पुरुषसँग बिहे गरिने नाममा बेचिएका थिए। कोभिड महामारीपछि कम्बोडियाबाट पनि चीनतर्फ तस्करी बढेको छ।

बीबीसीले सन् २०२३ मा युन्नान प्रान्तकी एक महिलालाई लोहेको सिक्रीले बाँधिएको अवस्थामा भेटिएको घटनालाई सार्वजनिक गरेको थियो। उनी आठ बच्चाकी आमा थिइन् र उनलाई जबरजस्ती बिहे गरेर बच्चा जन्माउन बाध्य पारिएको थियो।

चिनियाँ कानुनले जबरजस्ती बिहेलाई अपराध माने पनि अधिकारीहरूले पीडितहरूको उजुरीलाई नजरअन्दाज गर्दै उनीहरूलाई नै जेल हाल्ने, बच्चाबिनै देश फर्काउने र कहिलेकाहीँ घूस लिएर तस्कर वा पति समक्ष फिर्ता गर्ने गरेको मानव अधिकार रिपोर्टहरूमा उल्लेख छ।

चीनमा जनसंख्या घट्न थालेसँगै अधिकारीहरू श्रमिक र उपभोक्ताको संख्यामा गिरावट आउन सक्ने चिन्तामा छन्। यो संकटको मूल जरा भने राज्यद्वारा थोपारिएको पारिवारिक नियन्त्रण नै हो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.