अवैध नदी उत्खनन गरेको भन्दै चिनियाँ कम्पनीविरुद्ध मुद्दा, अन्तरिम आदेशको माग

काठमाडौँ । चिनियाँ कम्पनीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । मधेस प्रदेशमा अनधिकृत रूपमा नदी उत्खनन गरेको भन्दै चिनियाँ कम्पनी चाइना रेलवे नम्बर २ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडविरुद्ध मुद्दा दायर भएको हो।

धनुषाको कमलादेखि सप्तरीको कञ्चनरुपसम्म पूर्व–पश्चिम राजमार्गको चार लेन सडक विस्तारका लागि लहान नगरपालिका र चाइना रेलवेले संरक्षित जङ्गल र खोलाबाट अवैध रूपमा ढुंगा, गिट्टी र बालुवा उत्खनन गरेको रिट निवेदनमा उल्लेख गरिएको छ ।

मुद्दा गम्भीर प्रकृतिको भएको भन्दै सर्वोच्चले प्राथमिकता दिँदै सुनुवाइ आइतबार मंसिर १६ गतेका लागि तोकेको छ ।

सर्वोच्च अदालतको नियमावली (२०७४) को नियम ४९ बमोजिम तत्काल यस्तो गतिविधि रोक्न अन्तरिम आदेश जारी गर्न निवेदनमा माग गरिएको छ ।

वातावरण संरक्षण ऐन (२०७६), प्रादेशिक वन ऐन (२०७७) र सम्बन्धित नियमहरू उल्लङ्घन गरेको भन्दै कारबाहीका लागिसमेत माग गरिएको छ ।

यस्ता कार्यले वातावरणीय क्षति हुने भन्दै अन्तरिम आदेशको माग गरिएको हो ।

साथै निवेदनमा लहान नगरपालिकाले वातावरण संरक्षण ऐन र अन्य सान्दर्भिक नियमावली अन्तर्गतको कानूनी व्यवस्थाको उल्लङ्घन गरी सञ्चालन गरिएको तर्क गर्दै वातावरणीय मूल्याङ्कनलाई खारेज गर्न मागसमेत गरिएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.