उदासीन छन् चिनियाँ जनता

एजेन्सी । चीनको उच्च युवा बेरोजगारी दर र रोजगारले समेत रोजगारी छोड्न खोजिरहेका युवा विश्वका ठूला सञ्चारगृह र चिनियाँ नीति–निर्माताका लागि चासोको विषय बनेका छन् । यी समस्याका पछाडि प्रस्तुत गरिने भाष्यमा मुलुकको हालैको आर्थिक वृद्धिमा भएको गिरावट पर्छ । तर, समस्याको कारण सोचेभन्दा धेरै विकराल छ । चिनियाँ युवामा बढ्दो उदासीनता देशको कडा शिक्षा प्रणाली, ऐतिहासिक प्रजनन नीति र आन्तरिक आप्रवासनको सीमिततासँग जोडिएको छ । आप्रवासन मामिलामा आउने हुकुउ पञ्जीकरण प्रणालीअन्तर्गत सहरी बसोवासका लागि विद्यार्थीलाई राम्रो विश्वविद्यालय शिक्षाको आवश्यकता पर्छ । त्यसमाथि सहर एवं ग्रामीण क्षेत्रबीचको आय असमानताले उदासीनताको समस्या चर्काएको छ ।

राम्रा विश्वविद्यालय प्रवेश चुनौतीपूर्ण छ र त्यसमाथि सख्त विद्यालयीय शिक्षा प्रणालीले परिस्थितिलाई झन् चुनौतीपूर्ण बनाएको छ । नौ वर्षको अनिवार्य शिक्षापछि विद्यार्थीले शैक्षिक उच्च विद्यालयमा भर्ना पाउन प्रवेश परीक्षा दिनुपर्छ र यसमा ५० प्रतिशत विद्यार्थीलाई मात्रै उत्तीर्ण गराइन्छ । यो परीक्षामा उत्तीर्ण नहुने विद्यार्थी व्यावसायिक उच्च विद्यालयमा भर्ना हुन्छ । नतिजा तिनले न्यून पारिश्रमिकको काम पाउँछन् ।

चिनियाँ विद्यार्थीले विद्यालयमा मात्रै नभई महँगो निजी ट्युसन शिक्षकमा भर पर्नुपर्छ । शैक्षिक उच्च विद्यालयमा भर्ना पाउन यी बालबालिका अतिरिक्त क्रियाकलापमा पनि संलग्न हुन्छन् । तर, यसबाट हुने शैक्षिक उच्च विद्यालयको प्रवेश धेरै हदसम्म अपारदर्शी हुने गर्छ । विद्यार्थीमाथिको दबाब कम गर्न सरकारले नाफाका लागि ट्युसन पढाउने काममा प्रतिबन्ध लगायो र सार्वजनिक विद्यालयका शिक्षकलाई ट्युसन सेवा प्रदान गर्न निषेध ग¥यो । तैपनि, समस्या थप बल्झियो किनभने आपूर्ति घटेका कारण ट्युसन शिक्षकको सेवा शुल्क बढ्यो ।

सांघाई र बेइजिङमा धनी परिवारले ट्युसन प्रयोजनका लागि प्रतिघन्टा एक सय २० देखि चार सय डलर तिर्छन् र गरिब बालबालिका यी स्रोतबिनै कडा अध्ययन गर्नुपर्ने बाध्यतामा पर्छन् । सन् १९८० र १९९० को दशकमा सडक–टोल बालबालिकाले भरिएका हुन्थे, तर अहिले सप्ताहान्तमा पनि खेल मैदान खाली हुन्छन् । बालबालिका घरभित्रै गम्भीर अध्ययनको बोझ उठाउन बाध्य छन् ।

युवा उदासीनताको अर्को कारण भनेको एक्लोपन हो । सन् १९७९ देखि २०१६ सम्म चलेको एक सन्तान नीतिका कारण ग्रामीण क्षेत्रमा बालबालिकाले भाइबहिनीको अभाव महसुस गरे । एक सन्तान नीति आएपछिको दोस्रो पुस्ताका बालबालिकाका ‘कजिन’ (काका–फुपू–मामाका छोराछोरी–भाइबहिनी) पनि भएनन्, किनभने कजिन हुन बालबालिकाका लागि काका–फुपू–मामा नै थिएनन् । चिनियाँ कलेजका विद्यार्थीमाझ गरिएको एक सर्वेक्षणले भाइबहिनी हुने बालबालिकाको तुलनामा एक्लो बच्चाले तनाव र उदासीनता अनुभव गर्ने सम्भावना धेरै हुन्छ । र, सन् २०१० यता पाँचदेखि १४ वर्ष उमेर समूहका बालबालिकाको आत्महत्या दर पाँच गुणाले बढेको छ । अभिभावक पनि चरम तनावमा छन् । आफ्ना छोराछोरीको हेरचाह गर्नुको अलावा अधिकांश अधबैँसे सहरी दम्पतीले चार वृद्ध आमाबाबुको पनि हेरचाह गर्नुपर्छ । ठीकविपरीत करिब ४९ करोड १० लाख चिनियाँ बसोवास गर्ने ग्रामीण क्षेत्रमा एक–सन्तान नीति कम कडाइसाथ लागू गरिएको थियो अर्थात् वयस्कलाई भाइबहिनी हुनाले जिम्मेवारी बाँडफाँडमा राहत मिल्यो । तर, यी वयस्कले सन्तान हुँदा थप तनाव सामना गर्छन् । अधिकांशले सहरमा बढी आम्दानी हुने काम खोज्नुपर्छ, तर हुकुउ पञ्जीकरण नियमका कारण यी वयस्क आफ्ना सन्तानलाई भने सहर लग्न पाउँदैनन् । स्मरण रहोस्, रोजगारी प्रयोजनका लागि चिनियाँ ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा बसाइँसराइ गरेका मानिस करिब ११ प्रतिशत छन् ।

ग्रामीण क्षेत्रका अभिभावक, जो आफ्ना सन्तानसँग रहन्छन्, तिनका पनि आफ्नै समस्या छन् । सन् २००० देखि २०१५ सम्ममा करिब तीन लाख ग्रामीण विद्यालय बन्द भएपछि १२ प्रतिशत प्राथमिक तहका र ५० प्रतिशत माध्यमिक तहका विद्यार्थी टाढाको आवासीय विद्यालयमा पढ्न बाध्य छन् । ग्रामीण वयस्कहरूले आफ्ना सन्तानलाई शिक्षा उपलब्ध गराउन कडा परिश्रम गर्छन् र केही वर्षपछि ती सन्तानबाट अभिभावक अलग हुन्छन् ।

सन् २०१८ मा ३५ प्रतिशत चिनियाँ वयस्क उदासीनताको सिकार भएका थिए । ग्रामीण क्षेत्र र महिलामा यो आँकडा ५० प्रतिशतले बढी थियो । व्यापक उदासीनताले समाजका लागि खतरा निम्त्याउँछ, अर्थात् यसमा सम्भावित आर्थिक स्थिरता, न्यून प्रजनन क्षमता र सन् १९९० को दशकमा जापानले व्याहोरेजस्ता समस्या पर्छन् । तर, चीनका लागि सुखद समाचार छ, अर्थात् विद्यमान परिस्थितिका प्रत्यक्ष नीतिगत समाधान छन् । पहिलो कठोर केन्द्रीय योजनाबद्ध विद्यालयीय शिक्षा हटाउनु हो । यसमा स्थानीय सरकारलाई विद्यालय र विद्यार्थी संख्या निर्धारण गर्ने अधिकार उपलब्ध गराउनु हो । अधिकार उपलब्ध गराउने निर्णय गर्दा सरकारी निरीक्षण कायम राख्न भने आवश्यक छ ।

दोस्रो कदम भनेको ग्रामीण–सहरी बसाइँसराइ रहेका नियमन हटाएर परिवार पुनर्मिलन र ग्रामीण गरिबी घटाउनु हो । समग्र आर्थिक वृद्धि सुस्त हुँदा यो कदम महत्वपूर्ण हुनेछ । ग्रामीण क्षेत्रलाई सहरी क्षेत्रजस्तै समान अवसरको आवश्यकता छ । ग्रामीण श्रमले कम न्यून दक्षता आवश्यक पर्ने कारखानामा तीन करोड रिक्त पदपूर्ति गर्न मद्दत गर्न सक्छ । यी नीति लागू गर्दा शिक्षा प्रणालीमा वर्तमान सरोकारवालाको व्यवधान तेर्सिन सक्छ र बेरोकटोक बसाइँसराइले सहरी जनघनत्व बढाउन सक्छ । यद्यपि सम्भावित लाभले परिष्कृत आर्थिक वृद्धि र चीनका युवा एवं तिनका अभिभावकको मानसिक स्वास्थ्यमा सुधार निम्त्याउनेछ । (चियान चिनियाँ मूलकी अमेरिकी अर्थशास्त्री एवं प्राध्यापक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.